फायर हाइड्रेन्ट संचालमा नआउँदा आगलागी नियन्त्रणमा समस्या

प्रतिकात्माक तस्वीर : गुगलवाट

मातृभूमी संवाददाता । ०३ फागुन दैलेख
घटना नं. १ : २०८० जेठ २५ गते विहिवार दिउँसो करिब पौने १२ वजेतिर दैलेख सदरमुकामको देवकोटा चोकमा रहेको एक घरमा आगलागी भयो । घरको दोस्रो तलमा रहेको मन्टेश्वरीका विद्यार्थीलाई खाजा बनाउने बेला ग्याँस लिक भएर आगलागी भएको थियो । हतार हतारमा विद्यार्थी बाहीर निकालेर स्थानीयको सहयोगमा झण्डै डेढ घण्टा पछि आगो नियन्त्रणमा आयो । आगलागी हुँदा न समयमै दमकल आयो न फायर हाइडे्रन्ट प्रयोग गरियो ।


घटना नं. २ : २०८१ बैशाख २५ गते मंगलवार दिउँसो साढे १२ वजेतिर त्यस्तै नारायण नगरपालिका १ मै रहेको साजन अटो पार्टसमा आगलागी भयो । आगलागीबाट अटो पार्टससँगै रहेको सम्झना फोटो स्टुडियो र सम्झना इन्टरप्राइजेच जलेर खरानी भयो । १२ वजेतीर लागेको सामान्य आगो नियन्त्रण लिन नसक्दा अन्य पसललाई समेत क्षती गरेको थियो । आगलागी भएको पसलबाट दश मिटर टाढाँ रहेको फायर हाइडे्रन्ट प्रयोग हुन सकेन ।


घटना नं. ३ : २०८१ साउन ६ गते आईतवार राति करिव ८ वजेतिर नारायण नगरपालिका १ मै रहेको अन्नपुर्ण होलसेल कपडा पसलमा आगलागी भयो । आगलागीवाट उक्त कपडा पसल समेत नष्ट भयो । यहाँ पनि नजिकै रहेको हाइड्रेन्ट प्रयोग हुन सकेन । यी त प्रतिनिधी घटना र उदाहरण मात्र हुन् ।


दैलेख सदरमुकामका बिभिन्न दुई स्थान त्रिभुवन माविको मुल गेट अगाडी र देवकोटा चोकमा नारायण नगर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाद्धारा राखिएका फायर हाइडे्रन्ट प्रयोगमा नआउँदा बजार क्षेत्रमा आगलागी हुँदा नागरिकले दमकल नआउन्जेल घर–घर बाट पानी बोकेर आगो नियन्त्रण गर्नुपर्ने बाध्यता छ ।
नारायण नगरपालिका दैलेखका प्रवक्ता एवं वडा नं. ६ का वडाध्यक्ष जनक प्रसाद न्यौपानेले आगलागी हुँदा समयमै दमकल पुर्‍याउने कुरामा केही कमजोरी भएपनि दमकलले आगलागी नियत्तन्त्रणमा धेरै सहयोग पुगेको बताए ।
उनले बजार क्षेत्रको सडक साघुरो भएका कारण पनि आगलागी भएको स्थानमा सहजै दमकल पुग्न नसक्ने समस्या रहेको बताए । उनले भने, ‘हाम्रो भौगोलिक समस्याले बजार क्षेत्रको सडक साघुरो भएको र एउटा मात्र दमकल भएकाले पनि एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न कठिन भएको छ ।’
यता नारायण नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कार्यालय प्रमुख इन्जिनिएर राजन खड्काले नगरपालिकाले बजार क्षेत्र भित्र सडक निर्माण गर्दा फायर हाइडे्रन्टलाई प्रयोग गर्न समेत कठिन हुने गरी सडक निर्माण गरेको बताए ।
उनले सडक निर्माण गर्दा वा नगरपालिकालले आफ्नो विपद् प्रतिकार्य योजना निर्माण गर्दा खानेपानी उपभोक्ता संस्थालाई नबोलाउने र समस्या परेको बेला मात्र विभिन्न आरोपहरु लगाउने गरेको बताए । उनले भने, ‘बजार क्षेत्रमा राखेका हाइड्रेन्ट कसरी संचालन गर्ने भन्ने समेत सामान्य छलफल नगर्ने समस्या छ ।’
नेपाल पत्रकार महासंघ दैलेखका निवर्तमान अध्यक्ष यज्ञराज थापाले दैलेख सदरमुकाममा रहेका घर तथा पसलमा मात्र नभई स्थानीय जंगलमा लागेको आगो नियन्त्रण समयमै हुन नसकेको बताए । अध्यक्ष थापाले कसैको घर वा पसलमा आगलागी हुँदा घर–घरबाट पानी बोकेर आगो नियन्त्रण गर्नुपर्ने समस्या रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *