दैलेखका समसामयिक विषयमा सांसद रानाद्धारा सरकारको ध्यानाकर्षण
मातृभूमी संवाददाता । ०५ फागुन काठमाण्डौ
प्रतिनिधिसभा सदस्य सीता कुमारी रानाले रोजगारीका लागि अभिभावकहरू विदेशिनु पर्ने बाध्यताका कारण बालबालिकाहरू असुरक्षित बन्दै गएको र अपराधतर्फ उन्मुख भइरहेको वताएकी छन् ।
सोमवार वसेको प्रतिनिधिसभाको शुन्य समयमा वोल्दै रानाले दैलेखको दुल्लु नगरपालिका ५, रिजु पोखरामा ११ वर्षीय बालकको हत्या प्रकरणबारे संसद्मा कुरा उठाउँदै परिवार विखण्डनका कारण सामाजिक विकृति बढ्दै गएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन् । उनले यस्ता घटनाहरू दोहोरिन नदिन सरकारलाई तत्काल प्रभावकारी नीति ल्याउन आग्रह गरिन् ।
यस्तै सांसद रानाले दैलेखका आठविस र चामुण्डा वीन्द्रासैनी नगरपालिका तथा भैरवी गाउँपालिकाका विद्यालयहरूमा फैलिएको ‘विकृत तनाव’ भनिने मानसिक स्वास्थ्य समस्याप्रति पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् ।
गत दुई सातादेखि किशोरीहरू मात्र नभई किशोरहरू पनि बेहोस हुने समस्या देखिन थालेपछि विद्यालयहरूको पठनपाठन प्रभावित भएको विद्यालयमै स्वास्थ्यकर्मी तथा मनोचिकित्सक परिचालन गर्न सरकारसँग माग गरिन् ।
शैक्षिक सत्रको अन्तिम समय र वार्षिक परीक्षा नजिकिँदै गर्दा विद्यार्थीहरूमा देखा परेको समस्या समाधानका लागि सांसद रानाले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।