विद्यार्थी वर्षौं देखि भुईँमा बसेर अध्ययन गर्न बाध्य

मातृभूमी संवाददाता । ०८ दैलेख

आठबिस नगरपालिका ५ पिपलकोट स्थित नैनेल आधारभूत विद्यालयका विद्यार्थी वर्षौं देखि भुईँमा बसेर अध्ययन गर्न बाध्य भएका छन् । विद्यालयमा आवश्यक बेन्च तथा टेबुलको अभावले विद्यार्थीको सिकाइ प्रक्रियामा कठिनाइ भएको छ । स्थानीय नगर सरकार र अन्य सरोकारवाला निकायबाट आवश्यक बजेट उपलब्ध नहुँदा विद्यालय स्थापनादेखि नै विद्यार्थीहरू भुईँमै बसेर पढ्न बाध्य भएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका सदस्य प्रकाश विकका अनुसार पटक–पटक अनुरोध गर्दा पनि स्थानीय सरकार तथा सम्बन्धित निकायले बेन्च व्यवस्थापनमा चासो देखाएको बताए । विद्यालयमा भौतिक पूर्वाधारको अभावले विद्यार्थीहरूको सिकाइमा थप असर परेको छ । विद्यालयमा बेन्च र टेबुलको अभाव संगै विद्यालय भवन समेत जीर्ण अवस्थामा रहेको प्रधानाध्यापक नमराज जैसी बताए ।
उनका अनुसार चिसो मौसममा पुरानो जीर्ण भवनभित्र भुईँमै बसेर पढ्दा विद्यार्थी बिरामी पर्ने गरेका छन् । विद्यालयमा हाल १ सय ३२ जना विद्यार्थी अध्ययनरत छन् भने जसमा ७७ छात्रा र ५२ छात्र रहेका छन् ।
विद्यालयमा हाल कार्यालय सहयोगी सहित जम्मा ४ जना शिक्षक मात्रै कार्यरत रहेका छन् । कम शिक्षकले कक्षा ५ सम्मका विद्यार्थीलाई पठनपाठन गराउन हम्मेहम्मे पर्ने गरेको विद्यालयका प्रधानाध्यापक जैसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *