दुई महिने राउटे शिशुको मृत्यु
मातृभूमी संवाददाता । ०४ चैत्र दैलेख
गएराति राउटे समुदायका दुई महिने शिशुको मृत्यु भएको छ । बलबहादुर शाहीका दुई महिनाका छोरा रानीघाट शाहीको मृत्यु भएको हो । आमाबाबुले मदिरा पिउने र बालकको राम्रोसँग स्याहार र हेरचाह नगरेका कारण शिशुको मृत्यु भएको सोसेक नेपालबाट सञ्चालित राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद विसीले जानकारी दिए ।
शिशुमा कुनै विरामी नभएको, आमाबाबु मदिरा पिएर मस्त हुने, समयमा बच्चाले दुध नपाउँदा र हेरचाह नहुँदा मृत्यु भएको स्वास्थ्यकर्मी विसीले वताए । १ सय ३७ जनाको संख्यामा रहेको यो समुदाय दुई महिने शिशुको मृत्यु भएसँगै १ सय ३६ मा झरेको छ । पछिल्लो समय राउटे समुदायमा दिन प्रतिदिन मदिराकै कारण मृत्युदर बढिरहेको र जन्मदर कम हुँदै गएको स्वास्थ्यकर्मी विसीले बताए ।
यो समुदाय आजभोली दुई समुहमा विभाजन भएको छ । एक समुह वराहताल गाउँपालिका ६ सोतखोलाको जंगलमा बसोबास गरिरहेको छ भने अर्को समुह विरेन्द्र नगरनगरपालिका २ गिरीघाटको जंगलमा बसोबास गरिरहेको छ ।