सुन्तला बगैँचाकाे उपचार तथा सुदृढीकरण गर्न शुरू
मातृभूमी संवाददाता । ०५ चैत दैलेख
विभिन्न गाउँमा लगाएका सुन्तलाका बोट रोगले सुक्न थालेपछि सुन्तलाको उपचार तथा सुदृढीकरण गर्न सुरू गरिएकाे छ। कृषि विकास कार्यालयले रोगका कारण पात पहेँलो हुने, जरा कुहिने र सुक्दै जाने गरेपछि बगैँचामा गएर उपचार तथा सुदृढीकरण सुरू गरिएकाे । कृषि विकास कार्यालयका सूचना अधिकारी झलक भण्डारीले कृषि विकास कार्यालयको वार्षिक कार्यक्रम अनुसार सुन्तला तथा फलफूल बगैँचा ह्रास सुदृढीकरण कार्यक्रम अर्न्तगत ४५ वटा बगैँचामा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
दैलेख जिल्लाभर रहेका ४५ वटा सुन्तला बगैँचाहरूको सुदृढीकरणका लागि विभिन्न उपकरण र जैविक मल बिषादी, बायो पेस्ट सहयोग गरिएको छ । सुन्तला खेतीमा लाग्ने रोगका कारण बोटहरू सुक्न थाले पछि त्यसको सुदृढीकरण गर्न लागिएको कृषि विकास कार्यालयले जनाएको छ । वगैँचामा पुगेर प्राविधिकहरूले रोग पहिचान गरी निलो थुतो र चुना लगाउने, काँटछाँट गर्ने, विषादी छर्किने, पोषण तत्व हाल्ने लगायत काम गरिरहेकोे सूचना अधिकारी भण्डारीले बताए ।
जलवायु परिवर्तनको असर, सूक्ष्म तत्वको कमी, मल तथा विषादीको सही प्रयोग नहुँदा किसानले लगाएको सुन्तलामा विभिन्न रोगको समस्या देखिएको कृषि विकास कार्यालयका कार्यालय प्रमुख दशरथ पाण्डे बताए । रोगका कारण बिरुवा सुक्ने, पात पहँेलो हुने हुँदा वार्षिक रूपमा सुन्तला उत्पादनको खेती बिस्तार भइरहेको भए पनि उत्पादन कमी आईरहेको पाण्डेले बताए ।
दैलेखमा ६ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । यो वर्ष दैलेखमा ९ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयले जानकारी दिएको छ । कार्यालयले दिएको जानकारी अनुसार प्रत्येक वर्ष सुन्तला खेतीका लागी सुन्तलाका विभिन्न जातका बिरुवाहरू वितरण गर्दै समेत आइरहेको छ ।
यस्तै दुल्लु नगरपालिका ४ शान्ति बजारका सुन्तला खेती गरिरहेको किसान विजय खनालले सुन्तला खेती गरे अनुसार उत्पादन नभएपछि प्राविधिक सल्लाह र सुदृढीकरणका लागी कृषि कार्यालयलाई अनुरोध गरिएको बताए ।