‘बालबालिकालाई सत्मार्गमा लगाउन परिवारकै भूमिका महत्वपुर्ण’

मातृभूमी संवाददाता । ०८ चैत्र दैलेख
दैलेख जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेले बालबालिकालाई कुलतबाट रोक्न परिवार र समुदायको मुख्य भूमिका रहेको बताएका छन् । दुल्लू नगरपालिकाले दुल्लूमा आयोजना गरेको २ दिने बाल न्याय प्रणाली बारे अभिमुखीकरण कार्याशालामा उनले यस्तो वताएका हुन् ।
न्यायाधीश पाण्डेले बालबालिका भविष्यका कर्णधार हुन् । यिनीहरुलाई सत्मार्गमा लगाउन परिवार र समुदायले बेलैमा ध्यान नपुर्‍याउँदा गलत बाटोमा लागेको अवस्था भएकोले समुदायको चासो हुनुपर्ने सुझाव दिए । बाल न्याय प्रणाली कानूनले उन्मुक्ति होइन बालबालिकालाई सुधारको मौका दिइएको उनले चर्चा गरे ।
त्यस्तै बाल न्याय समन्वय समितिका सदस्य सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापा हालै गैरसरकारी संस्था महासंघको केन्द्रीय सदस्य पदमा निर्वाचित भएकोमा खादा माला लगाएर सम्मान गरिएको थियो । सम्मानित थापाले यो सम्मानले आफूलाई थप उत्साहित बनाएको वताए ।
दुल्लू नगरपालिकाका प्रमुख भरतप्रसाद रिजालको अध्यक्षतामा भएको कार्यशाला उद्घाटन कार्यक्रममा दुल्लू नगरपालिकाका उपप्रमुख बिना कार्की, दैलेख जिल्ला अदालतका बाल मनोविज्ञ पत्रकार अमर सुनार, दुल्लू नगरपालिका शिक्षा शाखा प्रमुख बिकासजङ्ग शाहीले बाल न्याय प्रणाली र यसको महत्व बारे आ–आफ्‌नो भनाई राखेका थिए ।
कार्यशालामा जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे, बाल मनोविज्ञ पत्रकार अमर सुनार, दैलेख जिल्ला अदालतका बैतनिक वकील हरि खत्री, जिल्ला सरकारी वकील कार्यालय दैलेखका सहायक जिल्ला न्यायाधिवक्ता धर्मराज न्यौपानेले सहजीकरण गरेका थिए ।
कार्याशालाको दोश्रो दिन शनिबार दैलेखका प्रमुख जिल्ला अधिकारी, दैलेखका प्रहरी इञ्चार्ज डीएसपी सुनिल दाहाल र दुल्लू नगरपालिकाका शिक्षा शाखा प्रमुख बिकासजङ्ग शाहीले सहजीकरण गर्नु हुने कार्यक्रम रहेको दुल्लू नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख उमा उपाध्यायले जानकारी दिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *