जम्भुकाँध बजार अनुगमन, म्याद गुज्रेका खाद्य वस्तु नष्
मातृभूमी संवाददाता । ०९ चैत्र दैलेख
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले जम्भुकाँध बजार अनुगमन गरेको छ । चामुण्डाविन्द्रासैनी नगरपालिकासँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालय दैलेखको समन्वयमा जम्भुकाँध बजार अनुगमन गरेको हो । बजार अनुगमनका क्रममा म्याद गुज्रेका मालसमान सरोकारवाला र स्थानीय नागरिकको रोहबरमा नष्ट गरिएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यालय प्रमुख शंकर बहादुर थापा, जिल्ला प्रशासन कार्यालय दैलेखका नायब सुव्वा शैलेन्द्र कुमार थापा, उद्योग बाणिज्य संघ चामुण्डाविन्द्रासैनी नगरपालिकाका अध्यक्ष घिरेन्द्र कुमार शाही, नेपाल पत्रकार महासंघ दैलेख शाखाका सचिव भिम सिजापति, प्रहरी चौकी जम्भुकाँधका असई हरिकृष्ण जोसी, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका शाखा अधिकृत पर्शुराम आचार्य, बजार अनुगमन शाखा प्रमुख प्रेमबहादुर विष्ट, खम्बिरा के.सी. र चामुण्डाविन्द्रासैनी नगरपालिकाका जमुना कुमारी शाही लगाएत स्थानीयहरुले बजार अनुगमन गरिएको थियो ।
जम्भुकाँध वजारमा रहेको एउटा मेडिकल, एउटा डेन्टल, होटेल, कपडा पसल र खुद्रा तथा खाद्यान्न गरी ३३ वटा पसलको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा म्याद गुज्रेका मालसमान जफल गरिएको थियो । अनुगमनका क्रममा व्यवसाय दर्ता नगरेका व्यापारीलाई दर्ता गर्न, कर नतिरेकालाई कर तिर्न, कागजात साथमा नराखेकालाई कागजात साथमै राख्न, विल चुस्त दुरुस्त राख्न सुझाव दिइएको छ ।
अनुगमन गरिएका ३३ व्यवसाय मध्ये विभिन्न खुद्रा तथा खाद्यान्न पसलबाट म्याद नाघेका विभिन्न १२ प्रकारका १ हजार ७ सय ५ रुपैयाँ बरावरका खाद्य पदार्थ पाईएकोमा ति म्याद नाघेका खाद्य बस्तु जफत गरी नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका बजार अनुगमन शाखा प्रमुख प्रेमबहादुर विष्टले जानकारी दिए ।