दैलेखमा चिट चोराउने २ जना पक्राउ, फोटोकपी मेसिन जफत
मातृभूमी संवाददाता । १० चैत्र दैलेख
जिल्ला प्रहरी कार्यालय दैलेखले माध्यामिक शिक्षा परिक्षा (एसइइ) परीक्षामा चिटको फोटोकपी गरेर वितरण गरिरहेका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूबाट प्रयोग भएको फोटोकपी मेसिन पनि नियन्त्रणमा लिएको छ ।
देशभर एसइइ अर्न्तगत आइतवार संचालन भैरहेको अनिवार्य गणित विषयको परीक्षामा चिट चोराउने दुई जना र फोटोकपी मेसिन दैलेख प्रहरीले नियन्त्रतणमा लिएको हो । यसै क्रममा दैलेख सदरमुकाम स्थित त्रिभुवन माध्यमिक विद्यालयमा केही स्थानीयले फोटोकपी मेसिन प्रयोग गरी परीक्षार्थीलाई चिट चोराएको पाईएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डीएसपी सुनिल दाहालले परीक्षा हलबाटै प्रश्न पत्र बाहिरिएको बताए । प्रहरीले अनुसन्धान अघि बढाएको डिएसपी दाहालले वताए । पक्राउ परेका व्यक्तिहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ ।
प्रहरीका अनुसार परीक्षालाई सुरक्षित र मर्यादित बनाउन परीक्षा केन्द्रहरूको निगरानीलाई थप कडा पारिएको छ । चिट तथा अनियमितता नियन्त्रण गर्न प्रहरीसँग समन्वय गरेर अघि बढी रहेको विद्यालय प्रशासनले जनाएको छ ।