अन्नपूणक्रमी बिस्नु न्यौपान माथि धम्की : महासंघको ध्यानाकर्षण
जित बहादुर थापा (रोशन) १३ चैत सुर्खेत
अन्नपूर्ण पोष्ट दैनिक सुर्खेतका संवाददाता बिस्नुप्रसाद न्यौपानेलाई पत्रिकामा समाचार प्रकाशित गरेको बिषयमा सामाजिक सञ्जालमा गाली गर्ने र धम्क्याउनेहरूका विरुद्धमा नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । पत्रकार न्यौपाने माथि मानसिक तनाव दिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले प्रेस विज्ञप्ति जारी गरेका छन् ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सचिव समेत रहेका न्यौपानेले चैत्र १२ गतेको अन्नपूर्ण पोष्ट दैनिकमा “विदेशी सहयोगको चरम दुरुपयोगः सामाजिक संस्थाका नाममा आफन्त र परिवारको रजगज” शीर्षकमा सुर्खेतको कोपिला भ्याली सेवा समाजको बेथितिका बिषयमा समाचार लेखेका थिए ।
कोपिला भ्यालीका प्रबन्ध निर्देशक टोपबहादुर मल्लका आफन्तहरु प्रकाश सिंह, लोकजंग सिंह ठकुरी लगायतले पत्रकार न्यौपानेलाई सामाजिक सञ्जाल मार्फत ज्यान मार्ने धम्की दिएको र आफुले असुरक्षित महसुस गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निवेदन दर्ता गरेका छन् ।
सञ्चार माध्यममा प्रकाशित समाचारका विषयमा असहमति भए कानूनी उपचार खोज्ने बाटाहरु हुँदा–हुँदै पनि ज्यान मार्ने धम्की दिइनु दुखको कुरा भएको भन्दै घटनाको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले भत्र्सना गरेको हो । महासंघले दोषीलाई कारवाही र पत्रकारलाई निर्बाध रुपमा काम गर्ने वातावरण सिर्जना गर्न सरकारसंग माग गरेको छ ।