खाद्य स्वच्छता सम्वन्धि एक दिने तालिम सम्पन्न
मातृभूमी संवाददाता । १८ चैत्र दैलेख
नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले नगर क्षेत्रमा आगामी नयाँ बर्षदेखी अनिवार्य मासु परिक्षण गरिने वताएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले दैलेख सदरमुकाममा आयोजना एक दिने खाद्य स्वच्छता सम्वन्धी तालिममा बोल्दै नगरप्रमुख शर्माले नगरपालिका क्षेत्रभित्र अनिवार्य मासु परिक्षण गर्नका लागि दक्ष जनशक्तिको व्यवस्थापन गरिसकेको वताएका छन् ।
दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले खाद्य स्वच्छता वृहत क्षेत्र भएकाले यसमा सुक्ष्म रुपले काम गर्नु पर्ने वताए । उनले खाद्य स्वच्छता प्रत्यक्ष नागरिकसँग जोडिएको विषय भएकाले कसैले पनि आम नागरिक र उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गर्न नहुने वताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले सोमवार दैलेख सदरमुकामा रहेका होमस्टे, होटेल, रेष्टुरेन्ट तथा क्यान्टिन संचालकहरुलाई एक दिने खाद्य स्वच्छता सम्वन्धी तालिम दिएको हो । सदरमुकाममा रहेका होटेल, रेष्टुरेन्ट तथा क्यान्टिन संचालकहरुको तालिममा कार्यालय प्रमुख भेषवहादुर थापाले आइतवार दैलेख सदरमुकाममा रहेका होटेल, रेष्टुरेन्ट तथा क्यान्टिनको अनुगमनका क्रममा भेटिएका कमि कमजोरीहरुलाई सच्याउँदै आगामी दिनमा उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै खाद्य स्वच्छता कसरी वढाउन सकिन्छ भन्ने विषयमा प्रष्ट पारेका थिए ।
उनले होटेल, रेष्टुरेन्ट तथा क्यान्टिन संचालकहरुले के गर्न हुन्छ, के गर्न हुँदैन, लगाएतका विषयमा अभिमुखिकरणका साथै कानुनी सचेतना, व्यवासायीहरुले पालना गर्नुपर्ने नियमहरुको वारेमा जानकारी गराएका थिए । थापाले फ्रिजमा कस्ता कस्ता वस्तुहरु कहाँ राख्ने ? कस्ता कस्ता वस्तुहरु फ्रिजमा राख्नु हुँदैन लगाएतका विषयमा समेत जानकारी गराएका थिए ।
सुरक्षा निकायका प्रमुखहरुले खाद्य स्वच्छताका विषयमा आ–आफ्नो भनाई राखेका थिए । तालिममा सहभागी व्यवसायीहरुले यस तालिमले आफुहरुलाई धेरै कुरा सिकाएको वताएका छन् । उनीहरुले आगामी दिनमा तालिमवाट सिकेका कुराहरुलाई व्यवहारमा उतार्न प्रयास गर्ने वताएका छन् ।