सुर्ति तथा मदिराजन्य पदार्थ नियमन तथा नियन्त्रणका लागि समन्वय बैठक सम्पन्न
मातृभूमी संवाददाता । १८ चैत्र दैलेख
दैलेखमा सुर्ती तथा मदिरा जन्य पदार्थ नियमन तथा नियन्त्रणका लागि समन्वय बैठक सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले सदरमुकाममा सुर्ती तथा मदिरा जन्य पदार्थ नियमन तथा नियन्त्रणका लागि सरोकारवालाहरुसँग छलफल गर्दै समन्वय बैठक सम्पन्न गरेको हो ।
सुर्तीजन्य पदार्थ तथा मदिरा नियमन तथा नियन्त्रणका लागि विद्यमान कानुनहरुको प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको र कार्यान्वयन गर्न संम्वद्ध पक्ष लाग्नु पर्ने स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. मनोज विश्कर्माले वताए । डा. विश्कर्माले सुर्ति तथा मदिराजन्य पदार्थका वेफाइदाहरुका वारेमा प्रकाश पारेका थिए ।
त्यस्तै दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले कानुन कार्यान्वयनका लागि सबै एकजुट हुनुपर्ने वताएका छन् । प्रमुख जिल्ला अधिकारी जैसीले सार्वजनिक स्थलमा सुर्ति तथा मदिराजन्य पदार्थ वेचविखन तथा प्रयोग गर्न नपाईने भन्दै यसको नियमनका लागि सम्वन्धित सबै जागरुक हुनुपर्ने र प्रचारप्रसारमा समेत विषेश जोड दिनुपर्ने वताए ।
नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगका कारण बर्षेनी ३९ हजार भन्दा बढी मानिसको मृत्यु हुने गरेको र मदिराको प्रयोगका कारण स्वास्थ्यमा विभिन्न जटिल रोग लाग्ने गरेको विभिन्न तथ्यांकमा उल्लेख छ । बैठकमा सुर्तिजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन २०६८ का बारेमा समेत जानकारी गराईएको थियो ।