माग पुरा नभए आन्दोलमा उत्रने महासंघको चेतावनी

जितवहादुर थापा (राेशन) । १९ चैत्र दैलेख
नेपाल पत्रकार महासंघ दैलेखले पत्रकार माथिको हिंसात्मक आक्रमणको भत्र्सना गर्दै ध्यानाकर्षण गराएको छ । महासंघले मंगलबार जिल्ला प्रशासन कार्यालय दैलेख मार्फत संघीय सरकारको ध्यानकर्षण गराएको हो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सर्कुलर अनुसार पत्रकार हत्या र मिडिया माथि भएको तोडफोड तथा आगजनीको विरोध एवं दोषी उपर कारबाहीको माग गर्दै दैलेखका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समर्थकहरुको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले विभिन्न सञ्चार माध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको विरोधमा महासंघले सरकारको ध्यानाकर्षण गराएको हो ।
भिडियो खिच्ने क्रममा आन्दोलनकारीले व्यक्तिगत घरमा लगाएको आगलागीमा परि पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । अराजक आन्दोलनकारीले अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइतलामा आगो लगाउनुका साथै ढुंगामुढामा र कान्तिपुर टेलिभिजनको भवनमा क्षति पुर्‍याएका थिए ।
यस्तै हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड, पत्रकार दिनेश गौतममाथि भएको आक्रमणबाट उनको खुट्टा भाँचिएको थियो । यस्तै फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको थियो । हिंसात्मक प्रदर्शनबाट घटेका घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल पत्रकार महासंघ दैलेख शाखाले दैलेखका प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानार्कषण पत्र बुझाएको छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी नबराज जैसी मार्फत नेपाल सरकार समक्ष ज्यान गुमाएका पत्रकारको हत्याबारे अनुसन्धान गरी घटनामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्नुपर्ने माग महासंघको छ । साथै, मृतक तथा घाइतेका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने महासंघले जोडदार माग गरेको छ ।
नेपाल पत्रकार महासंघ दैलेखका सचिव भिम वहादुर सिजापतिले मंगलबार महासंघको केन्द्रीय निर्देशन अनुसार दैलेख शाखाले सरकारलाई ध्यानाकर्षण पत्र वुझाएको बताए ।
सचिव सिजापतिले आन्दोलनका क्रममा क्षति पुर्‍याईएका सञ्चार गृहलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको उचित प्रवन्ध मिलाउन महासंघले माग गरेको बताए ।
विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्का घटनामा संलग्नहरूलाई तत्काल कानुनी कारवाही गरी भविष्यमा सञ्चार माध्यम र सञ्चारकर्मीको सुरक्षाको ग्यारेण्टी राज्यले मिलाउनु पर्ने जोडदार माग गरिएको छ ।
महासंघले राखेका माग एक साताभित्र सम्बोधन हुने विश्वसनीय आधार निर्माण नभए महासंघ देशव्यापी सरकार विरुद्ध आन्दोलनमा उत्रने चेतावनी महासंघको छ । ध्यानाकर्षण पत्र बुझ्दै दैलेखका प्रमुख जिल्ला अधिकारी नबराज जैसीले महासंघले राखेका माग गृहमन्त्रालय मार्फत सरकारलाई ध्यानाकर्षण गराउने बताए ।
आन्दोलनका नाममा पत्रकार र सञ्चार गृहमाथि हमला हुनु दुखद् रहेको भन्दै प्रमुख जिल्ला अधिकारी जैसीले आन्दोलनका नाममा कसैलाई पनि अराजकता फैलाउने छुट नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *