पेट्रोल छर्केर आगो लगाउन खोजेपछि प्रहरीको नियन्त्रणमा
मातृभूमी संवाददाता । २१ चैत सुर्खेत
श्रीमानाको हत्यारालाई कारवाहीको माग राख्दै उच्च अदालत सुर्खेतको गेटमा धर्नामा बसेकी एक महिलासँगै उनकी बहिनीले पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमानको हत्यारालाई उन्मिक्ति नदिन माग गर्दै अदालत अगाडी धर्नामा बसेकी जुनीचाँदे गाउँपालिका ६ मइपकी निर्मला शाहीसँगै रहेकी उनकी बहिनी सर्मिला शाहीले पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको हो ।
जाजरकोट जिल्ला अदालतले रामबहादुरको कर्तव्य ज्यान मुद्दामा चार जनालाई पूर्पपक्षका लागि कारागार पठाउन आदेश दिइ सकेको छ । बाँकी दुई जनालाई धरौटी र दुई जनालाई साधारण तारेकमा छाडेपछि रामबहादुरकी श्रीमती मंगलबारदेखि न्याय माग्दै उच्च अदालत अगाडी धर्नामा बसेकी हुन् ।
के हो घटना ?
गत माघ १८ गते जुनीचाँदे गाउँपालिका ६ मइपका रामबहादुर शाहीको हत्या भएको थियो । शाही माघ १७ गते जुनिचाँदे गाउँपालिका ५ स्थित शिवपुरी माध्यामिक विद्यालयमा भइरहेको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हेर्न गएका थिए ।
खेलकुद कार्यक्रम हेरेर फर्किने क्रममा काहाँरे खोलामा उनी मृत अवस्थामा भेटिएका हुन् । इलाका प्रहरी कार्यालय गर्खाकोटबाट प्रहरी नायब निरीक्षक पूर्णबहादुर रानाको टोली घटनास्थल पुगेर घटनाको अनुसन्धान अगाडी बढाएको हो ।
घटनास्थल थप शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाको कमान्डमा थप टोली खटिएको थियो । घटना स्थलमा रगत जस्तो देखिने रातो पदार्थ भेटिएको र उनको टाउको र कानमा चोट देखिएको प्रहरीले प्रारम्भीक अनुसन्धानको क्रममा बताएको थियो ।
अनुसन्धानको क्रममा रामबहादुरको हत्यामा संलग्न भएको आरोपमा जाजरकोट प्रहरीले ९ जनालाई पक्राउ गरेर उनीहरु विरुद्ध जाजरकोट जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
प्रहरीले रामबहादुरको हत्यामा संलग्न भएको आरोपमा सोही ठाउँका तुलाकुमारी शाही, बीरबहादुर शाही, जयबहादुर शाही, प्रेमबहादुर शाही, रत्नबहादुर शाही, मैसरा शाही, रेशमबहादुर शाही, रामबहादुर शाही र मैप १ नाबालकलाई पक्राउ गरेको थियो ।
जाजरकोट प्रहरीले उनीहरु विरुद्ध फागन ११ गते अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको हो । अदालतले फागुन १३ गते थुनछेक बहसपछि पाँच जनालाई धरौटी र चार जनालाई कारागार चलान गरिसकेको छ ।
२ लाख ५० हजारमा रत्न र एक लाख मैसराबाट धरौटी रकम माग गरेर अदालतले उनीहरुलाई छोडन आदेश दिएको जाजरकोट जिल्ला अदालतका सूचना अधिकारी रामसिंह ठकुरीले नेपालकर्मलाई जानकारी दिए । उनकाअनुसार साधारण धरौटीमा रेशम, राम र मैप १ नाबालकलाई अदालतले छाड्ने आदेश दिएको थियो ।
थुनछेक बहसपछि पूर्पपक्षका लागि तुलाकुमारी, बीरबहादुर, जयबहादुर र प्रेमबहादुरलाई कारागार चलान गर्ने आदेश भएको सूचना अधिकारी ठकुरीको भनाई छ । उनकाअनुसार मुद्दा अहिले पनि अदालतमा चलिरहेको छ । रामबहादुरकी श्रीमती निर्मलाले धरौटीमा अदालतले छाडेकोमा चित्त नबुझेको भन्दै छुटेकाहरुलाई थुनामा पठाइ पाउँ भन्दै उच्च अदालतमा निवेदन दर्ता गराएकी छन् ।
निर्मलाले विभिन्न आठ बुदे माग राख्दै उच्च अदालत अगाडी सोमबारदेखि धर्नामा बसेकी थिइन् । ‘जिल्ला अदालतको आदेश चित्त नबुझेपछि धरौटी छुटेकाहरुलाई थुनामा राखी पाउ भनेर ७३ नम्बर अन्तरगत मुद्दा अहिले उच्चमा विचाराधिन रहेको । उच्च अदालत सुर्खेतका प्रवक्ता प्रेमप्रकाश थापाले भने उनले दिएको निवेदन प्रक्रियामा छ, जिल्ला अदालतबाट कैफियत माग भइसकेकाले प्रक्रियागतमा गइसकेको छ । दुवै पक्षलाई जानकारी दिनुपर्ने अदालती प्रक्रियाका कारण पेशी तोकेर थप प्रक्रिया अघि बढ्छ ।