अटो रिक्साले बनायो स्वराेजगार

मातृभूमी संवाददाता । २५ चैत्र दैलेख
अधिकांश वेरोजगार युवाहरुका लागि अटोरिक्सा स्वरोजगारीको प्रमुख माध्यम बन्दै गएको छ । जिल्लामा अटोरिक्सा भित्रिएपछि धेरै वेरोजगार युवाहरुले अटोरिक्सालाई रोजगारीको माध्यम बनाएका हुन् ।
अटोरिक्साबाट भने जस्तै आम्दानी भएपछि जिल्लामा युवाहरु अटोरिक्सातर्फ आकर्षित भएका छन् । वैदेशिक रोगजारीबाट फर्केका अधिकांश युवाहरु अहिले आफ्नै ठाउँमा अटो सञ्चालन गरेर स्वरोजगार बनेका हुन् ।
छ वर्ष काम गरेर यूएईबाट घर फर्केका नारायण नगरपालिका ९ साडुका ३७ वर्षीय रामलाल विक अटोरिक्सा चलाएर मासिक ३० देखि ३५ हजार कमाउँदै आएका छन् । उनले आफ्नो सबै खर्च कटाएर दैनिक एक हजारदेखि १५ सय रुपियाँ बचत हुने गरेको बताए । उनले भने ‘आफ्नै देशमा सानो भए पनि काम गरेर कमाउन अहिले अटोरिक्सामै रमाइरहेको छु ।’
यस्तै, नारायण नगरपालिका २ कुसाडाका ५२ वर्षीय चक्रबहादुर गौतम विदेशबाट घर फर्केपछि सात वर्ष यतादेखि निरन्तर अटोरिक्सा चलाउन सुरु गरेदेखि मनग्य आम्दानी भएको बताए । अकार्को देशमा गएर दुःख गरेकोभन्दा स्वदेशमै अटोरिक्साबाट थोरै भए पनि आम्दानी गर्न सफल भएको उनले बताए ।
डुङ्गेश्वर गाउँपालिका १ चुप्राका राजेश बराल आठ वर्ष पहिले काम गर्न भारत गए । आठ वर्ष काम गरेर घर फर्किदा भने रित्तै फर्किनु पर्ने बाध्यता रहेको भन्दै उनले अहिले अटोरिक्सा चलाउँदै मासिक ४० देखि ४५ हजार रुपियाँसम्म आम्दानी गरेको उनले वताए । घरमै स्वरोजगार बनेपछि परिवारसँग बसेर रमाउन पाएको उनको भनाई छ ।
दैलेखमा पछिल्लो समयमा धेरै जसो युवाहरु अटोरिक्सा चलाएर स्वरोजगार बनेका छन् । जिल्लामा एकिन तथ्याङ्क नभए पनि झण्डै दुई ढाई सय हाराहारी युवाले पाँच लाखदेखि सात लाख रुपियाँको लागतमा अटोरिक्सा खरिद गरेर सञ्चालन गरी स्वोजरगार बनेका छन् । (गोरखापत्रवाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *