दैलेखका विभिन्न ठाउँमा असिनाले तरकारी र गहुँबालीमा नोक्सानी

मातृभूमी संवाददाता । ०२ वैशाख दैलेख
विभिन्न ठाउँमा तरकारी खेती र गहुँबालीमा लगातारको असिना–पानीले नोक्सानी गरेकाे छ  । महाबु गाउँपालिका वडा नं. ५ काँशिकाँध र वडा नं. ६ टाकुरी क्षेत्रमा पाकेको गहुँ असिनाले झारेर तहस–महस पारेको महाबु गाउँपालिकाका उपाध्यक्ष मञ्जू पाण्डेले जानकारी दिईन् ।
असिनाले डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ सिस्नेटारमा उन्नति कृषि फारामको पाँच रोपनीमा लगाइएको काँक्रा र तीन रोपनी क्षेत्रफलमा लगाइएको टमाटर खेतीमा नोक्सानी पुगेको सञ्चालक देवेन्द्र गोदारले बताए । करिब ४ लाख मूल्य बराबरको तरकारीमा क्षति पुगेको उनले जानकारी दिए । गएको माघमा लगाएको काँक्रा फल लागेको बेला ठूलो असिना–पानी परेकोले पूरै नोक्सानी भएको गोदारले बताए ।
असिनाले काँक्रा लगाएको क्यारीमा २५ माइक्रोनको प्लाष्टिक छियाछिया प्वाल पारेको र जमिन रहेका काँक्रा र टमाटरको फलसंगै बिरुवालाई थिलोथिलो पारेको छ । असिना–पानीले उन्नति कृषि फाराम जस्तै अरु धेरै कृषकहरुको तरकारी बालीमा नोक्सानी पुगेको डुङ्गेश्वर गाउँपालिकाका कृषि विकास अधिकृत मेनुका पाण्डेयले बताइन् । क्षतिको लगत लिने काम भइरहेको कृषि विकास अधिकृत पाण्डेयले जानकारी दिइन् ।
यस्तै दैलेखको दुल्लू नगरपालिका वडा नं. १३ की कृषक धनसरा शाहीले पनि फसल निकाल्न लागेको काँक्रा, टमाटर र गोलभेडाको तरकारीमा नोक्सानी पुगेको बताइन् । भगवतीमाई गाउँपालिका वडा नं. १ बेस्तडाका कृषक लोकविक्रम थापाले फर्सी, सिमीको फल, आलु र सुर्खानीको बेर्नामा क्षति पुगेको जानकारी दिए ।


यस्तो क्षतिको तथ्यांक लिने तर सरकारी तहबाट राहत सहयोग नपाएको महाबु गाउँपालिकाका उपाध्यक्ष मञ्जू पाण्डेले दुखेसो गरेकी छन् । बाली नोक्सानीको विवरण लिई सकेर बजेट विनियोजन भएर राहत आउन ढिला हुने गरेको कृषि विकास कार्यालय दैलेखका कृषि अधिकृत झलक भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *