दुल्लुमा विशेषज्ञ स्वास्थ्य शिविरमा एक हजार बढीले लिए सेवा
भिम सिजापति । १६ बैशाख दैलेख
दैलेखको दुल्लु नगरपालिकामा तीन दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । दुल्लु अस्पतालमा शनीवारवाट शुरु भएको तीन दिने विशेषज्ञ स्वास्थ्य शिविर सोमवार सम्पन्न भएको हो । दुल्लु नगरपालिका र स्वास्थ्य सेवा कार्यालय दैलेखको संयुक्त आयोजनामा संचालन भएको शिविरमा झण्डै एक हजार बढीले सेवा लिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका जनस्वास्थ्य निरिक्षक नमराज सुवेदीले जानकारी दिए ।
स्वास्थ्य सेवा कार्यालय दैलेखको समन्वयमा वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. धर्मराज रेग्मीको नेतृत्वमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.किशोर बिष्ट, मानसिक रोग विशेषज्ञ डा. पुजा विसी एमडिजिपी डा. लोकराज कँडेलको टोलिले सेवा प्रदान गरेको जनस्वास्थ्य निरिक्षक सुवेदीले जानकारी दिए ।
शिविरमा स्त्री तथा प्रसुति रोग, हाड जोर्नी नशा तथा बाथ रोग, मानसिक रोग, जनरल मेडिसिन सामान्य चिकित्सा गरी चार विधाका विशेषज्ञ डाक्टरहरुले निःशुल्क स्वास्थ्य परीक्षण गरेर औषधि वितरण गरिएको जनस्वास्थ्य निरिक्षक सुवेदीले बताए ।
शिविरमा स्त्री तथा प्रसुती रोग सम्वन्धी २ सय १३ जना, मानसिक रोगका १ सय ३३ जना, हाडजोर्नीका १ सय ७५ जना, भिडियो एक्सरे २३ जना, एक्सरे सय जना, जनरल ओपिडिका ३ सय १० जना, मेजर अप्रेसनका ८ जना, पाठेघरको क्यान्सर स्क्रिनिङ्गका १ सय २३ जना गरी १ हजार ८५ जनाले सेवा लिएको जनस्वास्थ्य निरिक्षक सुवेदीले बताए ।
यसैगरी शिविरमा गर्भवती जाँच सेवा, तल्लो पेट दुख्ने, सेतो पानी वग्ने, गन्हाउने पानी बग्ने, महिनावारी गडवढि, बाँझोपन तथा क्यान्सर सम्वन्धी चेकजाँच तथा उपचार, मानसिक स्वास्थ्य सम्बन्धी बरवराउने, निन्द्रामा हिड्ने, माइग्रेसन, डिप्रेसन, वहुलापन, सुस्त मनस्थिति, मनोसामाजिक समस्या, रुने कराउने, चिच्याउने सम्वन्धी विषेशज्ञ सेवा प्रदान गरिएको थियो ।
यस्तै हड्डी भाँचिएको, खिएको, बाथ सम्वन्धी समस्या, नशा सम्वन्धी समस्या, ढाड दुख्ने आदि समस्यहरुको निःशुल्क उपचार तथा औषधी वितरण गरिएको थियो । एक्सरे, भिडियो एक्सरे, सुगर, प्रेसर तथा नसर्ने रोगहरुको उपचार तथा परामर्श सम्वन्धी तीन दिने निःशुल्क विषेशज्ञ स्वास्थ्य शिविर संचालन गरिएको जनस्वास्थ्य निरिक्षक सुवेदीले जानकारी दिए ।