प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी

मातृभूमी राजनितिक व्युरो । २३ बैशाख काठमाण्डौ
प्रतिनिधिसभाको मंगलवारको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ । छलफलमा भाग लिदै सत्तापक्षीय दलका सांसदहरुले सरकारले नीति तथा कार्यक्रम मार्फत ल्याएका विषयहरू सकारात्मक रहेको भन्दै प्रभावकारी बजेटको व्यवस्था र कार्यान्वयनमा जोड दिएका छन् ।
प्रतिपक्षी दलका सांसदहरुले नीति तथा कार्यक्रममा राष्ट्र निर्माणका लागि बलिया आधारहरू नदेखिएको, सुखी नेपाली समृद्ध नेपालको लागि योजनाबद्ध कार्यक्रम आउन नसकेको र पुराना कार्यक्रमको निरन्तरता मात्रै देखिएको बताएका छन् ।
नेपाली कांग्रेसका सांसद धनराज गुरुङले विकासका लागि पिपिपि मोडेलमा जानुपर्ने, विद्युतीय सवारीसाधन सञ्चालनमा जोड दिनुपर्ने, पर्यटक क्षेत्रको विकासमा विशेष योजना सहित अगाडी बढ्नु पर्नेमा जोड दिए । उनले कृषि क्षेत्रलाई यान्त्रिकीकरण र व्यवसायीकरण गर्ने भनेर आएका विषय सकारात्मक रहेको भन्दै यसको कार्यान्वयनका जोड दिए ।
नेकपा एमालेका सांसद योगेश भट्टराईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान, प्रभावकारी विकास, ऊर्जा, कृषि, पर्यटन, मानव संशाधन विकासका लागि नीति तथा कार्यक्रम सकारात्मक रुपमा आएको बताए ।
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नीति तथा कार्यक्रम मुलुकको अर्थतन्त्र चलायमान गराउने, युवाका लागि उद्यमशीलता र रोजगारी सिर्जना गर्ने, ऊर्जा तथा जलविद्युत विकास गर्ने गरी आउन नसकेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम परम्परागत र कर्मकाण्डी मात्रै भएको, मन्त्रालयगत रुपमा स्पष्ट र अर्थतन्त्र बलियो बनाउने खालका योजना तथा कार्यक्रम आउन नसकेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले देशको अहिलेको अवस्थालाई सुधार गर्ने, व्यापार घाटा कम गर्ने, शिक्षा, स्वास्थ्य निःशुल्क प्रदान गर्नेगरी कार्यक्रम आउनु पर्नेमा जोड दिए ।
सांसदहरूले नीति तथा कार्यक्रममा आएका कार्यक्रमहरू कार्यान्वयनमा विशेष जोड दिनुपर्ने, पर्यटन, जलस्रोत, कृषि विकासका कार्यक्रममा बजेट लक्षित गर्नुपर्नेमा जोड दिएका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले धारणा राख्ने क्रम जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *