अपांगता भएका व्यक्तिहरूलाई अभिमूखिकरण कार्यक्रम सम्पन्न
मातृभूमी संवाददता । २५ वैशाख दैलेख
गुराँस गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकामा अपांगता भएका व्यक्तिहरूको संस्था र स्वाबलम्बी समूहका सदस्यहरूको लागि १ दिने स्थानीय तह सहभागितात्मक योजना तर्जुमा प्रक्रिया सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । एभरेष्ट क्लब दैलेख र सिबिएम नेपालको साझेदारीमा संचालित विकास परियोजना अर्न्तगत गुराँस गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकाका १४ वटा वडाका अपांगता भएका व्यक्तिहरूको संस्था र स्वाबलम्बी समूहका सदस्यहरूको लागि १ दिने अभिमूखिकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्देश्य स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा अपांगता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु र समावेशी विकास योजनाको निर्माणमा सहयोग गर्नु रहेको एभ्रेष्ट क्लब दैलेखले जनाएको छ । अभिमूखिकरण कार्यक्रम पश्चात अपांगता भएका व्यक्तिहरूलाई स्थानीय योजनामा सक्रिय रूपमा सहभागी गराउने दिशा तय गरिएको छ ।
कार्यक्रम समापनमा सहभागीहरूले योजना तर्जुमा प्रक्रिया, बजेट वितरण र स्थानीय विकासमा अपांगता भएका व्यक्तिहरूको भूमिका र योगदानको महत्वबारे जानकारी प्राप्त गरेको बताएका थिए ।
कार्यक्रमले समावेशी विकासका लक्ष्यलाई पूरा गर्न र अपांगता भएका व्यक्तिहरूको सशक्तिकरणमा थप योगदान पुर्याउने अपेक्षा गरिएको एभ्रेष्ट क्लब दैलेखले जनाएको छ ।