कर्मचारीका लागी क्षमता विकास तालिम सम्पन्न

मातृभूमी संवाददाता । ०१ जेठ दैलेख
महाबु गाउँपालिकाका सहयोगी कर्मचारीका लागी क्षमता विकास तालिम सम्पन्न भएको छ । महाबु गाउँपालिकाको आयोजनामा सहयोगी कर्मचारीलाई लक्षित गरी पहिलो पटक तालिम सम्पन्न भएको हो ।
बिहिबार गाउँपालिकाको सभाहलमा भएको तालिममा प्रशिक्षक मन भण्डारीले क्षमता विकास र सकारात्मक सोचका सूत्रहरु, सहयोगी कर्मचारीको काम, कर्तब्य र अधिकार, कार्यालयमा संचारको महत्व, प्रकार र माध्यम, असल सञ्चारका गुणहरू, अभिलेख व्यवस्थापन, अभिलेख व्यवस्थापनका विधि र तरिका, कार्यालयमा अभिलेख व्यवस्थापनको आवश्यकता, महत्व, फाइदा, दर्ता, चलानी र फाइलिंग ब्यवस्थापन, कार्यालय व्यवस्थापन, समयको महत्व, सरकारी सम्पत्ति वा जिन्सी व्यवस्थापनको महत्व, पदीय आचरण र अनुशासन, पेशागत आचरण, तनाव व्यवस्थापनको सीप, करार सेवामा कार्यरत कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन तथा नयाँ अवधीको लागि करार सम्झौता मापदण्ड लगायतको विषयमा प्रशिक्षण दिएका थिए ।


तालिम समापन सत्रमा बोल्दै महाबु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदयराज उपाध्यायले सहयोगी कर्मचारीहरु भनेका कार्यालयका गहना भएकाले कार्यालय ब्यवस्थापनको विविध पक्षमा इमान्दारिता पुर्वक काम गर्नुपर्ने बताए । कार्य सम्पादनमा उत्कृष्टता हासिल गर्ने कर्मचारीहरुको पालिकाले संधै मूल्यांकन गर्ने बताए ।
तालिममा सहभागिहरुले पहिलो पटक तालिम पाएकोमा खुसी ब्यक्त गरेका छन् । गाउँपालिकाका कम्युटर अपरेटर हस्त रावलले सञ्चालन गरेको तालिममा गाउँपालिकाका ६ वटै वडा कार्यालय र पालिका अर्न्तगतका स्वास्थ्य संस्थाहरुमा कार्यरत कार्यालय सहयोगी र सवारी चालक गरी ३० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *