वेथिति श्रृंखला-४६ : गुणस्तरहिन सामाग्री प्रयाेग गरेर सडक निर्माण गरिंदै
मातृभूमी संवाददाता । ०४ जेठ दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका १ चुप्राको जर्सी चोक–देउली–जडि हुँदै गाँउपालिकासम्म जोड्ने सडक मर्मतमा निर्माण कम्पनीले कमसल सामाग्री प्रयोग गरेको पाईएको छ । निर्माण कम्पनीले कमसल सामाग्री प्रयोग गरेर आरसिसि ढलान गरेको पाईएको हो । आरसिसिमा प्रयोग गरिएको सामाग्री हातले उप्काउन मिल्ने गरी कमसल सामाग्री प्रयोग गरी सडक निर्माण गरिएको स्थानीय बताउँछन् ।
चुप्राको जर्सी चोक–देउली–जडि हुँदै गाउँपालिका जोड्ने २४ किलोमिटर सडक खण्डका विभिन्न ठाउँमा भैरहेको आरसिसि ढलानको काम गुणस्तरहिन भएको स्थानीयको भनाई छ । उक्त सडक खण्डमा पटक–पटक डुप्लिकेसन समेत भैरहेको डुङ्गेश्वर गाउँपालिका २ का निवर्तमान अध्यक्ष राजु केसीले सामाजिक संजाल फेसवुकमा लेखेका छन् । निवर्तमान वडाध्यक्ष केसीले कम बजेटमा लामो दुरीको काम गराउँदा र जनप्रतिनिधीहरुको दीर्घकालीन सोच नभएका कारणले योजनाहरु मजबुत नहुने समेत फेसवुकमा लेखेका छन् ।
आरसिसि ढलान गर्नुपुर्व सरिया हाल्ने र देखाउने ढलानको समयमा तीन चारवटा सरिया तान्ने गरेको स्थानीय जित बहादुर थापाले समेत सामाजिक संजाल फेसवुकमा लेखेका छन् । सडक निर्माणमा कमसल निर्माण समाग्री प्रयोग गरेको, सोइलिङमा कमसल ढुङ्गा प्रयोग गरेको, गिट्टि प्रयोग नगरी वालुवा, सिमेन्ट र मोरङ्ग प्रयोग गरी ढलान गरेको स्थानीय थापाले वताए ।
सडक मर्मतका लागि देउतीबज्यै कन्स्ट्रक्सनले ७५ लाख ६३ हजार ८ सय ५० रुपैंयामा जिम्मा लिएको छ । निर्माण कम्पनीले सडकको विभिन्न अप्ठ्यारो ठाँउमा आरसिसि ढलान, सोइलिङ र ग्याबिनको काम गर्ने गरी जिम्मा लिएको सब–इन्जिनियर कमल विष्टले वताए । सब–इन्जिनियर विष्टले संघिय समपुरक अनुदान अर्न्तगत निर्माणको काम भैरहेको र कमसल काम हुँदा रोकिएको वताए ।
सडक निर्माणका क्रममा गुणस्तरीय काम नभएमा स्थानीय युवाले काम रोक्ने चेतावनी दिएका छन् । यस्तै डुङ्गेश्वर गाउँपालिका दैलेखका उपाध्यक्ष एवं योजना अनुगमन समितिका संयोजक कलावती न्यौपानेले काम कसरी भैरहेको छ । निर्माण कम्पनी कुन हो ? भन्ने कुरामा आफुलाई कुनै जानकारी नभएको भन्ने गैर जिम्मेवार जवाफ दिएकी छन् ।


