कृषकलाई धानको बीउ वितरण

मातृभूमी संवाददाता । ११ जेठ दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ । प्रति किलो ७५ मा खरिद गरी कृषकलाई बीउ वितरण गरिएको हो । खुमल १० तीन सय केजि र खुमल १६ नौ सय केजि गरी जम्मा १ हजार २ सय केजि धानको बीउ वितरण गरिएको डुङ्गेश्वर गाउँपालिका कृषि शाखा प्रमुख कृषि अधिकृत विश्व रावलले जानकारी दिए ।
डुङ्गेश्वर गाउँपालिकाका ६ वटै वडाका कृषकले माग गरे अनुरूप बागवानि अनुसन्धान केन्द्रबाट धानको बीउ संकलन गरी वितरण गरेको कृषि अधिकृत रावलले जानकारी दिए । धानको बीउ सम्बन्धित वडाको तोकिएका स्रोत केन्द्रबाट कृषकलाई वितरण गर्ने व्यवस्था मिलाइएको कृषि अधिकृत रावलले बताए । बीउमा अनुदान दिन थालेपछि कृषक व्यावसायिक खेतीतर्फ उत्साहित भएर लागेको गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसिले बताए ।
यस्तै कृषकलाई व्यावसायिक खेतीमा उत्साहित गराउन र आत्मनिर्भर बनाउने उद्देश्यले बीउमा अनुदान कार्यक्रमलाई प्राथमिकता दिँदै आएको डुङ्गेश्वर गाउँपालिका २ का वडाध्यक्ष यम बहादुर विष्टले बताए । कृषकलाई खेतमा लगाउने तरिका, मौसम सम्बन्धि जानकारी र प्राविधिकलाई कसरी वितरण गर्ने भन्ने बारेमा जानकारी दिएको कृषि अधिकृत रावल बताए ।
यस्तै डुङ्गेश्वर गाउँपालिका २ मा ७ बोरा धान आएको र ७० जनालाई ३ केजिका दरले उन्नत बीउ वितरण गरिएको कृषि प्राविधिक विमल खत्रीले जानकारी दिए ।
यो धान बिषेश गरी मध्ये पहाडमा लगाउने धान हो । यो धान ७ सय मिटर देखी १६ सय मिटर सम्म लगाउने गरिन्छ ।

