पालिका स्तरिय हाजिरी जवाफ प्रतियोगितामा जनकल्याण मावि प्रथम
मातृभूमी संवाददाता । ३० जेठ दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिकामा माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । फुलबारी सिकाई केन्द्र डुङ्गेश्वर गाउँपालिका २ को आयोजनामा माध्यामिक विद्यालय तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । बिद्यार्थीहरुको बौद्धिक बिकासका लागि सामान्य ज्ञान र पाठ्यक्रमका विषयमा कक्षा ९ र १० कक्षाका विद्यार्थीहरुबीच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
जनकल्याण माध्यामिक विद्यालयका प्रध्यानाध्यापक खगेन्द्र शाहीले यस्ता प्रतियोगिताहरूले विद्यार्थीको बाह्य ज्ञान वृद्धि विकासमा सेवा पुग्ने बताए । साथै विद्यार्थीले सिकाइ किताबमा मात्रै सीमित नराखी बाह्य जानकारीहरूमा समेत चासो राख्नुपर्ने उनको भनाई छ । डुङ्गेश्वर गाउँपालिकाका उपाध्यक्ष कलावती न्यौपानेले विद्यार्थीहरूको सिकाइलाई प्रभावकारी बनाउनमा अतिरिक्त क्रियाकलापको महत्वपूर्ण भूमिका रहेको बताइन् । साथै यस्ता प्रतियोगिता तथा कार्यक्रमहरू निरन्तर गरिरहने प्रतिवद्धता ब्यक्त गरिन् ।
यस्तै सभाध्यक्ष मान बहादुर बिष्टले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । फुलबारी सिकाई केन्द्र डुङ्गेश्वर गाउँपालिका २ को प्रयासको प्रशंसा गरे । प्रतियोगितामा विजेता विद्यालयलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको जनाइएको छ ।
प्रयोगितामा तिन वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगतामा जनकल्याण माध्यामिक विद्यालय सेर्माकोट प्रथम, पिपल चौतारा माध्यामिक विद्यालय डाडापराजुल द्धितिय, त्रिवेणी संगम माध्यामिक विद्यालय चुप्रा तृतिय भएका छन् ।
साथै प्राथमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता समेत सम्पन्न भएको छ । प्राथमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा जनकल्याण माध्यामिक विद्यालय सेर्माकोट प्रथम, नेरा आधारभूत विद्यालय उम द्धितिय, भैरवदेवि आधारभूत विधालय पैयाचौर तृतीय र भैरव आधारभूत विद्यालय लाकुरी चाैथा भएका छन् ।

