दैलेखका सरकारी कार्यालयमा छड्के अनुगमन, ९७ कर्मचारी अनुपस्थित
मातृभूमी संवाददाता । ०३ असार दैलेख
जिल्ला प्रशासन कार्यालय दैलेखले सरकारी कार्यालयमा आकस्मिक अनुगमन गर्दा ठूलो संख्यामा कर्मचारी अनुपस्थित र तोकिएको पोशाक नलगाएको भेटिएका छन् । जिल्ला प्रशासन कार्यालयले अनुगमनका क्रममा ९७ कर्मचारी अनुपस्थित रहेको र उपस्थित मध्ये ६७ जनाले तोकिएको पोशाक नलगाएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । केही कर्मचारी हाजिरी गरेर पनि कार्यकक्षमा अनुपस्थित नभएको प्रमुख जिल्ला अधिकारी गैह्रेको भनाई छ । यसले कर्मचारी अनुशासनमाथि प्रश्न उठाएको छ ।
सम्बन्धित कार्यालय प्रमुखसँग स्पष्टीकरण मागेको र प्रचलित कानून अनुसार कारबाहीको सिफारिस गर्ने तयारी गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गणेश काईरालाले जानकारी दिए । पछिल्लो समय सेवाप्रवाहमा नागरिक गुनासो बढिरहेका बेला कर्मचारीको अनुपस्थिति र अनुशासनहीनताले समस्या झनै बढ्ने उहाँले बताए । यसलाई नियन्त्रण गर्न सम्बद्ध निकायले प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाई छ ।
जिल्ला समन्वय समिति, कोष तथा लेखा नियन्त्रक कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला हुलाक कार्यालय, पूर्वाधार विकास कार्यालय, स्वास्थ्य सेवा कार्यालय, कृषि विकास कार्यालय, नारायण नगरपालिका, नेपाल टेलिकम लगायतका कार्यालय अनुगमन गरिएको थियो ।