नौमुलेका विपद् प्रभावित किसानलाई राहत वितरण

मातृभूमी संवाददाता । ०८ असार दैलेख
दैलेखको नौमुले गाउँपालिकाका विपद् प्रभावित १ सय ४७ जना कृषकलाई १० लाख ४५ हजार रुपैयाँ राहत रकम वितरण गरिएको छ ।
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुर्खेतले चालू आर्थिक वर्ष २०८१/०८२ दैलेखमा पठाएको ५२ लाख १ हजार रुपैँया मध्ये नौमूलेमा १० लाख ४५ हजार रुपैयाँ राहत रकम वितरण गरिएको कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले जानकारी दिए । हिउँदे बालीको कृषि उपजमा पुगेको क्षतिको मूयांकलन गरी राहत वितरणका लागी निवेदन पेस भएका मध्येबाट छनोट भएका किसानलाई उक्त राहत रकम उपलब्ध गराइएको कार्यालय प्रमुख  पाण्डेले बताए ।
नौमुले गाउँपालिका १ का वडाध्यक्ष रुपेश थापा मगरले राहत रकम हस्तान्तरण गर्दै गाउँपालिकामा किसानहरू प्राकृतिक विपद्बाट बारम्बार पीडित बनिरहेका किसानलाई उचित राहतको व्यवस्था हुनुपर्ने बताए ।
दैलेख जिल्लाका विभिन्न स्थानीय तहका कृषकहरुले लगाएको अन्नवालीमा भएको क्षतिको प्रकृति हेरेर राहत रकम वितरण गरिएको कृषि विकास कार्यालय दैलेखका कृषि अधिकृत झकल बहादुर भण्डारीले बताए ।
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दैलेखमा पठाएको ५२ लाख १ हजार रुपैँया मध्ये अरु बाँकी ४१ लाख ५६ हजार रुपैंयाँ दैलेखका अरु ७ पालिकाका किसानहरु दिइसकिएको र महावु र ठाटीकाँध गाउँपालिका, आठबीस र चामुण्डा विन्द्रासैनी नगरपालिकाका, कृषकलाई राहत रकम दिन बाँकी रहेको कृषि अधिकृत भण्डारीले बताए ।
विपद्बाट कृषि उपजमा पुगेको क्षति वापत राहत रकम प्राप्त नगरेका किसानहरुलाई मात्र राहत रकम दिइएको कृषि अधिकृत भण्डारीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *