दैलेखमा १४ प्रतिशत रोपाइँ सम्पन्न
मातृभूमी संवाददाता । ०९ असार दैलेख
दैलेखमा असारको पहिलो सातासम्म कुल धान खेती हुने क्षेत्रफलमध्ये करिब १४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । कृषि विकास कार्यालय दैलेखका अनुसार धान खेती हुने जिल्लाका ११ पालिकामा रोपाइँ चलिरहेको छ । जिल्लामा कुल ७ हजार ९ सय २५ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान रहेको छ । जसमध्ये असार पहिलो सातासम्म १ हजार १ सय ९ दशमलव ५ हेक्टरमा धान रोपाइँ सकिएको कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले जानकारी दिए ।
समयमै पानी परेको कारण तथा सिँचाइ सुविधा भएका क्षेत्रहरूमा खनजोत लगायतको तयारी र किसानहरुको सक्रियताका कारण असार पहिलो सातामा नै १४ प्रतिशत बढी धान रोपाइँ सकिएको कार्यालय प्रमुख पाण्डेको भनाई छ । विशेषगरी नौमुले गाउँपालिका आसपास क्षेत्रमा पानी पर्याप्त भएकाले छिटो रोपाइँ भएको हो ।

धान खेती दैलेखको खाद्य सुरक्षामा महत्वपूर्ण योगदान गर्ने मुख्य अन्नबाली हो । समयमा रोपाई सकिएमा र मौसम अनुकूल भएको उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ । पछिल्लो समय कृषि यान्त्रीकरण मार्फत केही कृषक समूहले मेशिनको प्रयोग गरी रोपाइँलाई सहज र छरितो बनाएका छन् ।

