डुङ्गेश्वर गाउँपालिकाद्धारा ४१ करोड बजेट सार्वजनिक
मातृभूमी संवाददाता । १० असार दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४१ करोड ८१ लाख ७२ हजार ९ सय ७३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १७ औं गाउँसभामा उपाध्यक्ष कलावती न्यौपानेले बजेट प्रस्तुत गरिन ।
बजेटमा गाउँपालिकावासीलाई प्रदान गरिने सेवा तथा सुविधाको गुणस्तरमा सुधार ल्याउन उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्ने र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी बढाउने उल्लेख गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष सुन्दर केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार गाउँपालिकालाई आत्मनिर्भर बनाउन कृषिजन्य तथा फलफुल उत्पादनमा विशेष प्रोत्साहन दिइने छ । साथै, शिक्षा क्षेत्रमा लगानी बढाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको छ ।भौतिक पूर्वाधारको विकासमा पनि विशेष जोड दिइएको छ । आधारभूत संरचनाको निर्माणलाई प्राथमिकता दिँदै दिगो विकासलाई केन्द्रमा राखिएको छ ।
स्थानीय भेषभूषा, धर्म, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने योजना समेत बजेटमा समेटिएको छ । सेवा प्रवाहमा सुधार, संस्थागत विकास र सुशासनलाई प्रोत्साहन गरिने बताइएको छ ।
स्वास्थ्य क्षेत्रमा सबै गाउँपालिकाबासीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने, विपन्न नागरिकका लागि घरमै बीमा गर्ने, विदेश गएका घरपरिवारललाई बीमा गर्ने, उच्च रक्तचाप र मधुमेहका दीर्घ रोगीहरूलाई निःशुल्क औषधि वितरण गर्ने व्यवस्था गरिने छ । युवाहरूलाई उद्यान तथा खेलमैदानको व्यवस्था गरी प्रशिक्षणको अवसर दिने योजना पनि समावेश गरिएको छ । स्थानीय परम्परागत सीप जस्तैः सिलाई–कटाई, जुत्ता सिलाउने, डोको–नाम्लो, दुना–टपरी बुनाइ लगायतका व्यवसायलाई संरक्षण र प्रवद्र्धन गरिने छ । फलफुल तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आत्मनिर्भरता अभिवृद्धि गर्ने नीति गाउँपालिकाले लिएको छ । बैठकमा जनप्रतिनिधि, गाउँकार्यपालिकाका सदस्यहरू, विभिन्न वडाका अध्यक्षहरू, कर्मचारी, तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
यस्तै नौमूले गाउँपालिकाले असार ८ गते आगामी वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो । दुल्लू नगरपालिकाले अरु भन्दा बढी बजेट विनियोजन गरेको छ । दुल्लु नगरपालिकाले १ अरब ८ करोड ८१ लाख ४९ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । गुराँस गाउँपालिकाले ७३ करोड ६१ लाख ४४ हजार ९ सय ५५ रुपैयाँ २४ पैंसा बजेट विनियोजन गरेको छ । नारायण नगरपालिकाले ५६ करोड ४४ लाख ६९ हजार ४ सय २९ रुपैयाँ बजेट विनियोजन गरेको छ । ठाटीकाँध गाउँपालिकाले आगामी वर्ष २०८२/०८३ को लागि ४१ करोड १५ लाख ३१ हजार ५९ रुपैयाँ बजेट विनियोजन गरेको छ