दुईवटा सामुदायिक विद्यालयलाई खेलकुद र मनोरन्जनका सामग्री हस्तान्तरण
मातृभूमी संवाददाता । १२ असार दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर २ मा रहेका जनकल्याण माद्यामिक बिद्यालय सेर्माकोट र भैरव आधारभूत बिद्यालय लाकुरीलाई खेलकुद र मनोरन्जनका सामाग्री हस्तान्तरण गरिएको छ । डुङ्गेश्वर गाउँपालिका २ नम्बर वडा कार्यालयले बिद्यालयलाई खेलकुद र मनोरन्जनका सामग्री हस्तान्तरण गरेको हो । बालबालिकाले खेलकुद र मनोरन्जनमा रुचि राखुन् र खेल विकासमा सहयोग पुगोस् भन्ने उदेश्यले खेल सामग्री बितरण गरिएको जनाइएको छ ।
बितरण गरिएका खेल सामाग्रीमा भलिबल ५ थान, फुटबल २ थान, भलिबलको जाली २ थान, भलिबलको पोल २ थान, ज्याप्लिङ्गथ्रो २ थान, ब्याटमिन्टनको पोल २ थान, मादल २ थान, स्पीकर सिस्टम्स २ थान लागाएतका सामाग्री बिद्यालयलाई हस्तान्तरण गरिएको डुङ्गेश्वर गाउँपालिका २ का वडाध्यक्ष यम बहादुर विष्टले जानकारी दिए ।
खेलकुदले बालबालिका स्वस्थ हुनुका साथै अनुसासित बनाउने वडाध्यक्ष विष्टले बताए । खेल सामाग्री हस्तान्तरण कार्यक्रमा वडाध्यक्ष विष्टले बिद्यालयमा हुने हरेक विकास निर्माणका साथै हरेक क्रियाकलापमा आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । विद्यार्थीको शारीरिक विकासका लागि विद्यालयलाई खेलकुद सामग्री प्रदान गरिएको वडाध्यक्ष विष्टको भनाइ छ ।

भलिबल खेलमा राष्ट्रिय तथा अर्न्तराष्ट्रिय खेलाडीहरु उत्पादन गरिसकेकाले यस क्षेत्रका खेलाडीहरुलाई खेलप्रति थप हौसला प्रदान गर्न र खेलकुद विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरिएको वडा सचिव दुर्योधन वुढाले बताए ।
बिद्यालयको प्रगतिका लागि वडाले गरेको खेलकुद सामाग्री वितरणले सकारात्मक सन्देश दिएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र शाहीले बताए । बिद्यालयमा के कस्तो समस्या छ भनेर वडाले सम्पर्क गरेपछि साना बालबालिकाको लागि खेलकुद र मनोरन्जनका सामाग्री आवस्यक रहेको जानकारी गराएपछि वडा कार्यालयबाट उक्त सामाग्री प्राप्त भएको अर्का प्रधानाध्यापक तप्त बहादुर खत्रीले बताए ।
वडाको सहयोगबाट विद्यार्थीहरु निकै उत्साहित भएको र खेलकुद विकासका लागि वडाले गरेको सहयोगप्रति भैरव आधारभूत बिद्यालय लाकुरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्म राज विष्टले धन्यवाद ज्ञापन गरेका थिए । यस्तै खेलकुद र मनोरन्जन सामाग्रीको सहि रूपमा सदुपयोग हुने जनकल्याण माद्यामिक बिद्यालय सेर्माकोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोप बहादुर वलीले प्रतिबद्धता व्यक्त गरे ।

