विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

मातृभूमी संवाददाता । १७ असार दैलेख
दैलेखको महाबु गाउँपालिका वडा नं. २ ले ५७ घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । वडाका अति विपन्न ५७ घर परिवारको वडाले निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो ।
आर्थिक अभावकै कारण स्वास्थ्य उपचार पाउनबाट बञ्चित नहोउन् भन्ने उद्देश्यले स्वास्थ्य बिमा गरिदिएको महाबु गाउँपालिका २ का वडाध्यक्ष प्रकाशराज थापाले बताए । उनले नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमा अभियानमा आवद्ध बनाइ स्वास्थ्य सेवालाई अति विपन्न वर्गको पहुँचसम्म पुर्‍याउन निःशुल्क स्वास्थ्य बीमा गरिएको बताए ।
वडाले यश आर्थिक वर्षमा अति विपन्न समुदायको स्वास्थ्य बिमा गर्न १ लाख १९ हजार ५ सय बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा ५७ जनाको स्वास्थ्य बिमा गर्न बजेट विनियोजन गरिएकोमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि थप बजेट व्यवस्थान नगरेको र पछी कहीँ कतैबाट व्यवस्थान गर्ने वडाध्यक्ष थापाको भनाई छ । स्वास्थ्य बिमा कार्ड बनाइदिएसँगै एक लाखसम्मको स्वास्थ्य उपचार सेवा नागरिकले निःशुल्क प्राप्त गर्ने छन् ।
आर्थिक अवस्था कमजोर भएका एवं सामान्यदेखि जटिल स्वास्थ्य समस्यामा परेका समुदायका नागरिकहरुमा सहज स्वास्थ्य सुविधाको पहुँच विस्तार गर्न वडाले निःशुल्क बीमा कार्यक्रम ल्याएको हो । संविधानमा उल्लेख गरिएको नागरिकको स्वास्थ्य उपचारको मौलिक हक कार्यान्वयन गर्न निःशुल्क बीमा कार्यक्रमको थालनी गरेको वडाध्यक्ष थापाले बताए ।
वडाले निःशुल्क बीमा गरिदिन सुरु गरेपछि लक्षित समुदायका घरपरिवार खुसी भएका छन् । विपन्न एवं दलित घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमामा आबद्ध गराउन टोल विकास संस्था र दैलेख अस्पतालसँग सहकार्य गरेको वडाध्यक्ष थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *