एसइइमा दैलेखका १२ विद्यालयको नतिजा शून्य

जित बहादुर थापा (रोशन) । २६ असार दैलेख
शैक्षिक सत्र २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसइइ) मा दैलेखको शिक्षा क्षेत्रमा गम्भीर चिन्ता पैदा गर्ने खालको नतिजा सार्वजनिक भएको छ । जिल्लाका ११ स्थानीय तहबाट सहभागी भएका ४ हजार ७ सय ७५ जना विद्यार्थी मध्ये जम्मा १ हजार ९३ जना मात्र उत्तीर्ण भएका छन् । बाँकी ३ हजार ६ सय ८२ विद्यार्थी अनुत्तीर्ण भएका छन् । यो समग्रतामा हेर्दा जिल्लाको उत्तीर्ण दर २२ दशमलप ८९ प्रतिशत रहेको छ ।
सबैभन्दा चिन्ताजनक पक्ष त के हो भने जिल्लाका १२ विद्यालयबाट सहभागी भएका २ सय ८६ विद्यार्थी मध्ये एक जना पनि उत्तीर्ण हुन सकेनन् । यी विद्यालयहरू सात वटा स्थानीय तहमा रहेका छन्, जसमा चामुण्डाबिन्द्रासैनी नगरपालिका र नौमुले गाउँपालिकामा सबैभन्दा बढी एसइइमा अनुत्तीर्ण हुने पालिकाका रूपमा देखिएका छन् ।

१२ विद्यालयको शून्य नतिजा

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको धर्मदेव माध्यामिक विद्यालय आयरपाटा र जनता माध्यामिक विद्यालय मस्टामाण्डुबाट ५५ विद्यार्थी सहभागी भए पनि सबै अनुत्तीर्ण भएका छन् । नौमुले गाउँपालिकाका अरनिको माध्यामिक विद्यालय चौराठा, कालिका माध्यामिक विद्यालय बांगेटिमुरे, र नेपाल राष्ट्रिय माध्यामिक विद्यालय ठानडाँडाका ७० जना विद्यार्थी पनि पूर्ण रूपमा असफल भएका छन् ।
यस्तै गुराँस गाउँपालिकाका दुर्गा माध्यामिक विद्यालय पुलिया र महादेव माध्यामिक विद्यालय तल्लो डुङ्गेश्वर, डुङ्गेश्वर गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय हनेटा, महावु गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय गिताचौर, र भैरवी गाउँपालिकाको महादेव माध्यामिक विद्यालय पानी पोखरामा पनि शून्य नतिजा आएको देखिएको छ ।
पालिका अनुसार विश्लेषण गर्दा भगवतीमाई गाउँपालिका सबैभन्दा अगाडि रहेको छ । भगवतीमाई गाउँपालिकाका ३ सय ४८ सहभागी विद्यार्थी मध्ये १ सय ८५ जना उत्तीर्ण भएका छन् । जसको उत्तीर्ण दर ५३ दशमलप १६ प्रतिशत हो ।
यसैविच पालिकाहरूमा डुङ्गेश्वर गाउँपालिका ३९ दशमलप ०८, नारायण नगरपालिका ३६ दशमलप ४७, र गुराँस २५ दशमलप ४९ पालिका क्रमशः रहेका छन् । आठबीस नगरपालिकामा २२ दशमलप ३७ प्रतिशत, ठाटीकाँधमा १८ दशमलप ६२ प्रतिशत, महाबुमा १७ दशमलप २१ प्रतिशत, भैरवीमा १४ दशमलप ९७ प्रतिशत, दुल्लुमा १३ दशमलप ४१ प्रतिशत, नौमुलेमा १२ दशमलप ६३ प्रतिशत र अन्तिममा चामुण्डाबिन्द्रासैनी नगरपालिकामा जम्मा ७ दशमलप ३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा तथा समन्वय इकाई दैलेखले जनाएको छ  ।

प्राविधिक धारको अवस्था पनि चिन्ताजनक

एसइइमा प्राविधिक धारबाट १ सय ९६ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ६८ जना मात्र उत्तीर्ण भएका छन् भने १ सय २८ जना अनुत्तीर्ण भएका छन । साधारण र प्राविधिक दुबै धारलाई समेट्दा ४ हजार ७ सय ७५ जना सहभागी मध्ये ३ हजार ६ सय ८२ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

४ जिपीए र एप्लस ल्याउने २० जना मात्र

एसइइमा ४ जिपीए र ए प्लस ल्याउने विद्यार्थीको संख्या पनि निकै न्यून छ । जिल्लाका १३ विद्यालयका जम्मा २० विद्यार्थीले ए प्लस ल्याएका छन् । नारायण नगरपालिकामा रहेका फुलबारी विद्यामन्दिरमा ४ जना, मोडेल स्कुलमा ३ जना, त्रिभुवन माध्यामिक विद्यालय दैलेखमा २ जना, र पशुपति माध्यामिक विद्यालय छेपाडीबाट २ जना रहेका छन् ।
अन्य विद्यालयहरूमा १/१ जनाले मात्रै ४ जिपीए प्राप्त गरेका छन् । सबैभन्दा उल्लेखनीय त्रिभुवन माध्यामिक विद्यालयकी छात्रा सिवानी शाही ठकुरी रहेकी छन् । उनले ४ जिपीए ल्याएकी छन् ।

जिम्मेवार को ?

एसइइको कमजोर नतिजाको जिम्मेवारीका विषयमा विभिन्न पक्षबाट फरक–फरक मत आएको डुङ्गेश्वर गाउँपालिका ३ स्थित डुङ्गेश्वर गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय हनेटाका शिक्षकहरुको भनाई छ
डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार के.सीले नतिजा कमजोर आउनुमा सबै पक्ष दोषी भएको बताए । उनले पालिकाले गम्भीर छलफल गर्दै सुधारका योजना कार्यान्वयन गर्ने बताए ।

अब के गर्ने ? सुधारका उपायहरू ।

शिक्षा विकास तथा समन्वय इकाई दैलेखका सूचना अधिकारी रतनबहादुर बिष्टले दरबन्दी अनुसारका शिक्षक नभएको र अपर्याप्त व्यवस्थापन रहेको बताए । अर्को समस्या भनेको वर्षभरि पढाइ नहुनु र विद्यार्थीको पढाईको जग नै कम्जोर रहेको उनको भनाई छ । दैलेखमा निराशाजनक नतिजा आउनुमा नेपाल सरकारको कम्जोरी भएको विष्टले बताए ।
‘पालिकाले ठुला–ठुला गफगर्न छोडेर र तालिम दिन छोडेर हरेक पालिकाले आफ्नो विद्यालयको पुर्नसंरचना गर्नु । यो गरेमा शिक्षक संख्या पुग्छ । यस्तो गरेमा पालिकाको खर्च पनि बढ्दैन । र पालिकाले पनि विद्यँलयलाई काम गर्ने वातावरण दिनुपर्ने विष्टले बताए ।
यसैविच एसइइ नतिजा ल्याउनेमा अग्रस्थानमा रहेको भगवतीमाई गाउँपालिकाले एसइइ परिक्षालाई सफल बनाउन विभिन्न उदाहरणीय प्रयास गर्दै आएको गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले जानकारी दिए । धेरै प्रयासले गर्दा जिल्लामै पहिलो पालिका हुन सफल भएको उनको भनाई छ । एसइइमा राम्रै नतिजा ल्याउन पालिकाले हरसम्भव प्रयास गरेको अध्यक्ष थापाले बताए । एसईईको तयारीका लागि पालिकाले परीक्षा सुरु हुन दुई महिना अगाडिदेखि अंग्रेजी, गणित र विज्ञान विषयमा निःशुल्क कोचिङ कक्षा सञ्चालन गरेको थापाको भनाई रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *