बलात्कारी तीन जनालाई ७ देखी १२ वर्ष कैद सजाय
मातृभूमी संवाददाता । २६ असार दैलेख
बलात्कार सम्बन्धी तीन वटा छुट्टाछुट्टै घटनाका तीन जना कसूरदारलाई दैलेख जिल्ला अदालतले कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट ती कसूरदारहरुलाई ७ देखि १२ वर्ष कैदको फैसला भएको अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायले जानकारी दिए ।
भैरबी गाउँपालिका १ रावतकोटका ३० वर्षीय दीपेन्द्रबहादुर बिष्टललाई ७ वर्ष कैद, ३ लाख रुपैंयाँ जरिवाना र ५० हजार रुपैंयाँ पीडितलाई क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको छ । २०७९ पुस २५ गते जंगलमा १९ वर्षीया दलित युवतीलाई बलात्कार गरेको र गर्भ रहेपछि जात नमिलेको भनी विवाह गर्न समेत पन्छिएपछि पीडित पक्ष कानूनी उपचारमा जुटेको थियो । पीडित पक्षले फागुन २३ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीको आधारमा पक्राउ गरेको थियो ।
घटनाको सम्वन्धमा प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालयले २०७९ चैत १९ गते दैलेख जिल्ला अदालतमा दर्ता गराएको भोलिपल्ट चैत २० गते थुनछेक बहसपछि तत्कालिन जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले कारागार थुनामा पठाएको थियो । पीडित युवती गर्भवती भएकी र कसूरदारले जातका कारण पञ्छिएपछि पीडितको चाहना अनुसार सुर्खेत प्रदेश अस्पतालमा गर्भपतन गराइएको थियो ।
यस्तै अर्को घटना १५ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएका नौमूले गाउँपालिका २ बालुवाटारका २१ वर्षीय सूर्यबहादुर गिरीलाई पनि आजको फैसलाबाट १२ वर्ष कैद, ५ लाख रुपैंयाँ जरिवाना र एक लाख रुपैंयाँ पीडितलाई क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको छ । २०८० भदौमा बलात्कार गरेको भन्दै पीडित पक्षले दिएको उजुरीका आधारमा कसूरदारलाई प्रहरीले फागुन १० गते पक्राउ गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ११ गते दैलेख अस्पतालमा भएको थियो ।
प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकील कार्यालयले चैत ५ गते दैलेख जिल्ला अदालतमा अभियोग दर्ता गराएको भोलिपल्ट चैत ६ गते भएको थुनछेक बहसपछि तत्कालिन जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट कारागार थुनामा पठाइएको थियो ।
अर्को तेश्रो घटना १९ वर्षीया अशक्त युवतीलाई बलात्कार गरेको कसूरमा परिवर्तित नाम दैलेख ३ ले १७ वर्षीय बालक लाई दैलेख जिल्ला अदालतको आजको फैसला अनुसार ८ वर्ष कैद, ३ लाख रुपैंयाँ जरिवाना र ५० हजार रुपैंयाँ पीडितलाई क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको छ ।
यो घटनामा ०८१ असोज २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २५ गते प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो उजुरी परेकै दिन प्रहरीले कसूरदारलाई पक्राउ गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण असोज २५ गते दैलेख अस्पतालमा भयो ।
मुद्दाका सम्बन्धमा ०८१ कात्तिक १४ गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे नै मुद्दाको पुर्पक्षका लागि बिज्याईकर्ता बालकलाई बाल सुधार गृह नेपालगञ्ज पठाइएको थियो । एकै दिन तीन वटा बलात्कार घटनाको फैसला हुनुले दैलेखमा बलात्कार घटनाहरु पनि बढेको र कानूनी सचेतना बढेको रुपमा पनि लिइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का मानव अधिकार अभिलेख सूचांकमा बर्षेनी २५–३० बलात्कार घटना अदालत पुग्ने गरेका छन् । बलात्कारपछि गर्भवती भएका आजै फैसला भएका घटना जस्तै गम्भीर प्रकृतिका घटनाहरु मात्र कानूनी उपचारमा आउने गर्दछन् ।

