दैलेख पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
जित बहादुर थापा (रोशन) । २८ असार दैलेख
दैलेख जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला खोप समन्वय समिति अध्यक्ष नमराज शाहीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी घोषणा गरिएको हो ।
दैलेखलाई पूर्ण खोप सुनिश्चित जिल्ला बनाउने अभियानमा सहभागी सम्पूर्ण स्थानीय तह, स्वास्थ्य संस्था, अभिभावक तथा समुदायलाई जिल्ला खोप समन्वय समिति अध्यक्ष शाहीले अध्यक्ष शाहीले धन्यवाद दिएका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर के.सी. ले खोपजस्तो निःशुल्क सेवा नलिनु आफैंमा कमजोरी भएको उल्लेख गर्दै सरकारले दिएको निःशुल्क खोपबाट कोही पनि वञ्चित नहुने बताए ।
यस्तै, नेपाली कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि त्यो प्रत्यक्ष रूपमा नदेखिने भए पनि तथ्यांकमा स्पष्ट रूपमा देखिएको बताए । उनले तथ्यांकलाई पत्रकार र राजनीतिक दलका प्रतिनिधिहरूले अध्ययन गरी मूल्यांकन गर्नुपर्नेमा जोड दिए ।

जिल्ला अस्पताल दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले खोप अभियान मार्फत शिशु मृत्युदरमा कमी आएको र प्रतिरोधात्मक स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आएको जानकारी दिए । उनले २०७४ साल असार ४ गते दैलेख तत्कालीन मध्यपश्चिम विकास क्षेत्रको पहिलो पूर्ण खोप घोषणा जिल्ला भएको बताए । उनले अहिले सम्म दैलेख ८ पटकसम्म पूर्ण खोप सुनिश्चितता, निरन्तरता तथा दिगोपनाको घोषणा भइसकेको जानकारी दिए । उनले अझै पनि केही बालबालिका खोप सेवाबाट वञ्चित भइरहेको भन्दै, सबैले मिलेर उनीहरूलाई पनि खोपको पहुँचमा ल्याउनुपर्ने आवश्यकता रहेको बताए । साथै, नियमित अनुगमन र जनचेतना अभिवृद्धिमा पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका जन स्वास्थ्य निरिक्षक ओम पौडेलले खोपको पहुँच, प्रभावकारिता र चुनौतीहरूबारे प्रस्तुति दिएका थिए । उनले साउनदेखि नै समुदाय, वडा, पालिका, जिल्ला र प्रदेशस्तरसम्म योजना बनाएर कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
गैर सरकारी संस्था महासंघ दैलेखका अध्यक्ष भुवन कुमारी चन्दले यो अभियानले बालबालिकाको स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याएको भन्दै खुसी व्यक्त गरिन् ।

त्यस्तै, पत्रकार महासंघ दैलेखका अध्यक्ष अम्मर सुनारले मिडियाले सधैं स्वास्थ्य अभियानमा साथ दिँदै आएको र आगामी दिनहरूमा पनि सक्रिय सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

