दैलेखमा भीरबाट खसेर पूर्व उपाध्यक्षको मृत्यु
मातृभूमी संवाददाता । ३० असार दैलेख
रोपाइँको लागि पानीको कुलो लगाउँदै गर्दा भीरबाट खसेर साविकको बेलासपुर गाविसका पूर्व उपाध्यक्ष ७० वर्षीय कमानसिंह सार्कीको मृत्यु भएको छ । तिदुगैरा खेतमा रोपाइँका लागि भूर्तीखोलाबाट कुलोमा पानी लगाउन लाग्दा चिप्लिएर नारायण नगरपालिका ३ निवासी पूर्व उपाध्यक्ष सार्कीको मृत्यु भएको हो ।
कुलोमा पानी रामरी बगोस् भनेर ढल मिलाउँदै गरेको बेला अकस्मात चिप्लिएर तिदुगैरा भीरबाट करिब डेढ सय मीटर तल खोल्सामा खसेर घाइते भएको सार्कीको उपचारका लागि दैलेख अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको नारायण नगरपालिका ३ का वडासदस्य रत्ना सार्कीले जानकारी दिईन् ।
२०४९ मा साविकको बेलासपुर गाविसको उपाध्यक्षमा निर्वाचित भएका कमानसिंह सार्की अहिले नेकपा एमालेको जिल्ला कमिटी सदस्य र नारायण नगरपालिका ३ मा रहेको पञ्चदेवल प्रावि भूर्तीको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका थिए । उनका एक श्रीमति, चार छोरी र दुई छोरा छन् ।

