शिशु चोरेको आरोपमा बालिकालाई ३ वर्ष कैद

मातृभूमी संवाददाता । ३१ असार दैलेख
दैलेखमा २८ दिनको नवजात शिशु चोरेको आरोपमा १६ वर्षीया बालिकालाई दैलेख जिल्ला अदालतले कैदको फैसला गरेको छ । अदालतले बालिकालाई ३ वर्ष ४ महिना कैद र ३३ हजार ३ सय ३३ रूपैंयाँ जरिवाना सजाय गरेको छ । जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट उक्त सजाय भएको हो ।
अपहरण तथा शरीर बन्धक कसूरमा ३ वर्ष कैद र ३० हजार तथा आपराधिक उपद्रो कसूरमा कसूरमा २ वर्ष कैद र २० हजार समेत ५ वर्ष कैद र ५० हजार रूपैंयाँ एकीकृत सजाय भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायले जानकारी दिए ।
एकीकृत सजाय बाल न्याय प्रणाली अनुसार बिज्याईकर्ता बालबालिकाले कसूरदारको उमेर अनुसार पाउने एक तिहाई मिनाह भई कसूरमा ३ वर्ष ४ महिना कैद र ३३ हजार तीन सय ३३ रुपैंयाँ जरिवाना कायम भएको अदालतका सूचना अधिकारी उपाध्यायले बताए ।
गएको चैत २८ गते छिमेकी गाउँमा परालको टौवामा आगो लगाएर ध्यान खिचेर शिशु सुताएको ठाउँबाट चोरेर हैरानी पारेको विषयमा पीडित पक्षले चैत ३१ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएका थिए ।
ठाटीकाँध गाउँपालिका १ सिराडीका स्थानीय बमबहादुर बुढाकी २८ दिनकी छोरी श्रीया बुढा चोरेको र भोलिपल्ट चैत २९ गते विहान जंगलमा लुकी बसेको अवस्थामा छिमेकी गाउँ चामुण्डामा फेला पारिएको थियो ।
प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय दैलेखले वैशाख १९ गते अभियाग दर्ता भएको र थुनछेक बहसपछि जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट कसूरदारलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *