दैलेखमा असार सकिँदा ७७ प्रतिशत रोपाइँ सम्पन्न
मातृभूमी संवाददाता । १ साउन दैलेख
दैलेखमा असार सकिँदासम्म ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि विकास कार्यालय दैलेखका अनुसार धान खेती हुने जिल्लाका ११ पालिकामा अहिले पनि रोपाइँ चलिरहेको छ । जिल्लामा ७ हजार ९ सय २५ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ । जसमध्ये अन्तिमसम्म ६ हजार १ सय ४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले जानकारी दिए ।
समयमै पानी परेका कारण तथा सिँचाइ सुविधा भएका क्षेत्रहरूमा खनजोत लगायतको तयारी र किसानहरुको सक्रियताका कारण असार सकिदासम्म ७७ प्रतिशत भन्दा बढी धान रोपाइँ सकिएको कार्यालय प्रमुख पाण्डेको भनाई छ । विशेषगरी नौमुले, राकम कर्णाली, डुङ्गेश्वर, भगवतीमाई लगाएतका क्षेत्रमा पानी पर्याप्त भएकाले छिटो रोपाइँ भएको हो ।
धान खेती दैलेखको खाद्य सुरक्षामा महत्वपूर्ण योगदान गर्ने मुख्य अन्नबाली हो । समयमा रोपाइँ सकिएमा र मौसम अनुकूल भएमा उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ । पछिल्लो समय कृषि यान्त्रीकरण मार्फत केही कृषक समूहले मेशिनको प्रयोग गरी रोपाइँलाई सहज र छरितो बनाउने गरेका छन् ।

