दैलेखका विभिन्न स्थानमा बाँदर र बँदेलको आतंक

मातृभूमी संवाददाता । ५ श्रावण दैलेख
दैलेखका अधिकांश ग्रामिण क्षेत्रका किसानहरु बाँदर र बँदेलको आतंकले हैरान भएका छन् । जंगल नजिक बस्ती हुँदा बाँदर र बँदेलले स्थानीयलाई हैरान बनाएको छ । हिउँदमा घरमै पुगेर अन्न खाइदिने र सामान फुटाइदिने गरेका बाँदरले बर्खामा बारीमा लगाएका मकै, भटमास लगायतका बाली नष्ट गर्न थालेपछि स्थाीय किसानहरु हैरान भएका छन् ।
भर्खरै लाग्न थालेको मकैको घोगा दिनमा बाँदर र रातमा बँदेलले नष्ट गर्न थालेपछि बारीमै त्रिपाल तथा छाप्रा हालेर दिनरात कुर्नु परेको स्थानीय किसानहरु बताउँछन् । त्रिपाल तथा छाप्रामा दैनिक एक–दुई जना बाँदर र बँदेल धपाउने बस्नु परेको कृषकहरु बताउँछन् । छाप्रामा मकै, भटमास र कोदो बाली नभित्र्याउँदासम्म बस्नु पर्ने बाध्यता रहेको दैलेखका स्थानीय किसानहरुको भनाई छ ।
दिनमा बाँदर धपाउन र रातमा बँदेल धपाउन कुरुवा बस्नु पर्ने बाध्यता रहेको किसानहरुको भनाई छ । दैलेखका धेरै स्थानमा रातो बाँदर पाइन्छ भने केही स्थानमा सेतो प्रजातिका बाँदरले पनि आतंक मच्चाउने गरेको किसानको गुनासो छ । हरेक वर्ष बाँदर र बँदेले बर्षेबालाी मकै नष्ट गर्ने गरेका छन् । बाँदर र बँदेल नियन्त्रणका लागि स्थानीय पालिकाले कुनै नीति नल्याउँदा किसान निराश भएका छन् ।
सयौंको संख्यामा रहेको बाँदरले बारीमा रहेको मकै एकैछिनमा नष्ट गर्ने हुँदा एकजना कुरुवा अनिवार्य बस्नु पर्ने बाध्यता रहेको डुङ्गेश्वर गाउँपालिका २ का किसान गंग बहादुर खत्रीले बताए । असार अन्तिम सातादेखि बारी छेउमा छाप्रो बनाएर बस्न थालेको बताउँदै असोजमा मकै भित्र्याएपछि मात्रै कुरुवा बस्नु नपर्ने बताए ।
कतिपय किसानले बाँदरलाई डर देखाउन बारीको छेउछाउमा कुकुर बाँध्ने, पुरानो कपडाको पुत्ला बनाएर राख्ने गरेका छन् । पहिले–पहिले कुकुर र पुत्लादेखि डराएर बारीमा बाँदर कम आउने गरे पनि अहिले डराउन छाडेको अर्का किसान डम्बर खत्रीले बताए ।
दैलेखका दुल्लुको गमौडी, भैरवीको रावतकोट, महावुको वडाखोला, खरिगैरा, नारायणको जाहारकोट, कुसाँडा, कुईकाना, ठाँटिकाँधको मटेला, आठवीस लगाएत जिल्लाका विभिन्न क्षेत्रमा दिनमा बाँदर र रातमा बँदेलले आतंक मच्चाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *