कृषि कार्यालय सधैं कृषकको साथमा छ : पाण्डे

जित बहादुर थापा (राेशन) । २० श्रवाण (कृषि) दैलेख
कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख दशरथ पाण्डेले कृषि विकास कार्यालयसंग जोडिएका कृषकहरुलाई संधै सहयोग गर्ने बताएका छन् । दैलेखमा “दैनिक एक चम्चा मह सेवन, स्वस्थ र दीर्घायु जीवन” भन्ने मूल नारा सहित शुरु भएको तिन दिने मौरी पालन तथा व्यवस्थापन तालिम समापन कार्यक्रममा बोल्दै कार्यालय प्रमुख पाण्डेले यस्तो बताएका हुन् ।
तालिमको समापनमा बोल्दै कार्यालय प्रमुख पाण्डेले कृषकको माग अनुसार भगवतीमाई गाउँपालिकामा मौरी पालनको पकेट क्षेत्र कार्यक्रम रहेको र अन्य पालिकामा युवा लक्षित कार्यक्रममा जोड दिने बताए । कृषि कार्यालय जहिले पनि किसानको साथमा रहेको बताउँदै उनले किसानको आवश्यकताका आधारमा कृषि लक्षित कार्यक्रम जस्तै मौरी पालन, सुन्तला खेती, तरकारी र च्याउ खेतीलाई समेत प्राथमिकता दिने उनले जानकारी दिए ।
नेपाल मौरी पालक महासंघ कर्णाली प्रदेशको आयोजना, हेल्भेटास नेपालद्वारा सञ्चालित इलम परियोजना र सोसेक नेपाल मार्फत सञ्चालित ग्रिन कर्णाली परियोजना अर्न्तगत सञ्चालन भएको तालिम साउन १८ गतेदेखि सञ्चालन भएको थियो ।
महासंघका अध्यक्ष लीलाराम ढकाल, उपाध्यक्ष निर्मला सुवेदी, ब्यावसाय योजनाका प्रशिक्षक मोहन राना, हेल्भेटास नेपाल तथा ईलम परियोजना र ग्रिन कर्णाली परियोजनाका कर्मचारीहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
तालिममा सहभागी कृषकलाई विभिन्न विषयमा आधारभूत जानकारी दिनुका साथै छलफल गरिएको थियो । मौरी विमालेख तथा उधमशिलता र ब्यावसाय विकास योजना निर्माणको लागि मौरी पालनको परिचय तथा व्यवस्थापन विधि, मौरीका पुराना घार तथा आधुनिक घार, मौरीका रोग र किराबाट हुने क्षति तथा रोकथाम, मह उत्पादनको गुणस्तर र भण्डारण प्रविधि, मह तथा मौरीजन्य उत्पादनहरूको बजारीकरण तथा आम्दानी वृद्धिका उपाय, उद्देश्य लगायतका विषयमा जानकारी दिएको प्रशिक्षक लीलाराम ढकालले बताए ।
परियोजनाका अनुसार, मौरीपालनलाई व्यवस्थित उद्यममा रूपान्तरण गर्न सिप विकास र प्राविधिक ज्ञान आवश्यक भएकाले यो तालिम सञ्चालन गरिएको हो । तालिमका सहभागिहरुले मौरीपालन व्यवसायमा महिलाको सक्रिय सहभागिता बढ्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा सहभागी नौमुले, गुराँस, ठाँटिकाध र भगवतिमाई गाउँपालिका तथा नारायण नगरपालिकाका गरी ३६ जना कृषकहरुको सहभागीता रहेको थियो ।

