दैलेखका ११ स्थानिय तहमा राहत शिक्षकको बिरोध
मातृभूमी संवाददाता । २६ श्रवाण दैलेख
नेपाल राहत शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिको निर्देशन अनुसार देशभरका ७ सय ५३ वटै स्थानीय तहमा आयोजना गरिएको विरोध सभा कार्यक्रम अर्न्तगत दैलेखको ११ वटै स्थानिय तहमा विरोध सभा भएको छ ।
भैरवी गाउँपालिकामा शिवप्रकाश आचार्यको अध्यक्षतामा सम्पन्न विरोध सभामा केन्द्रीय स्तरदेखि स्थानीय तहसम्मका विभिन्न शिक्षक संगठनका प्रतिनिधिहरूको उपस्थितिमा आफ्ना माग मुद्दा सम्बोधन नगरेको भन्दै सरकारको विरोधमा आक्रोशपूर्ण मन्तव्य राखिएको थियो ।
सभामा प्रमुख अतिथि राहत शिक्षक केन्द्रीय सह–अध्यक्ष देविराम आचार्यले शिक्षक महासंघले अठाएका मागहरु कार्यन्वयन नभए पहिलेको भन्दा ठुलो आन्दोलन हुने जानकारी दिए । उनले सरकारले ल्याउन लागेको शिक्षा विधेयकमा राहत शिक्षकको व्यवस्थापन सम्बन्धी कुनै स्पष्ट प्रावधान नरहेको र राहत शिक्षकलाई अपमानित गर्दै हटाउन खोजिएको भन्दै असन्तोष व्यक्त गरे ।
यस्तै विशेष अतिथि राहत शिक्षक जिल्ला अध्यक्ष कनक बहादुर शाहीले अस्थायी प्रकृतिका शिक्षक कर्मचारीको मागलाई शिक्षा ऐनको प्रारूपमा समावेश नगरिएकोप्रति गम्भीर आपत्ति ब्यक्त गरे ।
कार्यक्रममा नेपाल शिक्षक संघ भैरवी अध्यक्ष माधव प्रसाद तिमिल्सिना, पेशागत महासंघ जिल्ला सदस्य वलिराम थापा, महासंघ भैरवी अध्यक्ष ललित प्रसाद सापकोटा, महासंघ जिल्ला सदस्य कर्ण के.सी, नेपाल शिक्षक संघ जिल्ला सह–सचिव चक्र गुरुङ, नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश सदस्य डिल्लीराम आचार्य, एकीकृत अखिल नेपाल शिक्षक संगठन भैरवी अध्यक्ष चित्र रिजाल, र भैरवी गाउँपालिका शिक्षा समिति सदस्य तारा रिजाल लगायतले विरोध सभामा समर्थन जनाएका थिए ।
दैलेखका नारायण, दुल्लु, चामुण्डा, आठविस नगरपालिका, भैरवी, गुराँस, भगवती, डुङ्गेश्वर, नौमुले, महावु, र ठाटिकाध गाउँपालिकामा बिरोध सभा सम्पन्न गरेको केन्द्रीय सह अध्यक्ष देबिराम आचार्यले जानकारी दिए ।

