लैंगिक हिंसा विरुद्ध अभियान चलाइदै


मातृभूमी संवाददाता । ०३ भाद्र दैलेख
जिल्ला प्रहरी कार्यालय दैलेखले लैंगिक हिंसा रोकथाममा सहकार्य बढाउन जिल्ला सदरमुकाममा सोमबार एक अन्तरक्रिया कार्यक्रम गरेको  छ । लैंगिक हिंसा रोकथाम सवालमा काम गर्दै आएका नागरिक समाज संस्था र दैलेखका ११ वटै पालिकाका महिला तथा बालबालिका शाखा प्रमुखहरुको सहभागितामा उक्त कार्यक्रम गरेको हो
बलात्कार, यौन दुर्व्यवहार, बालविवाह, छाउपडी प्रथा विरुद्ध समुदाय स्तरसम्म दैलेख प्रहरीले सञ्चालन गर्न लागेको एक महिना लामो सचेतना अभियान स्थानीय तहका कार्यक्रम र लैंगिक हिंसा रोकथाम सवालमा काम गरिरहेको गैर सरकारी संस्थाहरुको परियोजना क्रियाकलापहरु सहकार्यमा सञ्चालन गर्न अन्तरक्रिया कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी गणेश बहादुर बरालले जानकारी दिए ।
ग्रामीण बस्तीको समुदायमा सचेतना आवश्यक परेकोले भदौ महिनाभर लैंगिक हिंसा रोकथाम अभियान सञ्चालन गर्न लागेको साझेदारी र सहकार्य चाहेको डीएसपी बरालले बताए । बलात्कारजन्य घटना र महिला माथि हुने हिंसा बढिरहेकोले समुदायमा सचेतना आवश्यक परेको डीएसपी बरालको भनाई छ ।
नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले प्रहरीले सञ्चालन गर्ने अपराध रोकथामका निम्ति सचेतना अभियानमा नागरिक समाजको सहयोग अझैं बढाउनुपर्ने बताए । गैर सरकारी संस्था महासंघका कोषाध्यक्ष भरतराज अधिकारीले सिजनल रोजगारीले पनि अपराध संख्या बढेको टिप्पणी गरे ।
यस्तै आठबीस नगरपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बन्दना लम्सालले छिमेकी जिल्ला अछामको प्रभावले आठबीसमा छाउपडी प्रथा हट्न नसकेको बताइन् । ठाँटीकाँध गाउँपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गीता बिकले जिल्लाकै विकट मानिने ठाँटीकाँधमा बालविवाह रोकथाम प्रयासहरु सफल हुन नसकेका स्वीकार गरिन् ।
यसैविच डुङ्गेश्वर गाउँपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तेजु रेग्मीले विवाहको उमेर २० वर्ष पुर्‍याएको कारण पनि बालविवाहको संख्या बढेको भन्ने बहस पनि भइरहेको उल्लेख गर्दै अहिले विवाहको उमेर २० वर्षमा रहँदासम्म यसैलाई कार्यान्वयनमा जुट्न आग्रह गरिन् ।
कार्यक्रममा सीएमसी नेपालका र टीपीओ नेपालकी उर्मिला बीसीले हिंसा पीडित महिलाहरुको स्वास्थ्य उपचार, कानूनी सहायता जस्तै गोपनीयता कायम राख्दै पीडित समस्या सुन्ने र आत्मबल दिने कुरामा समुदायको सहयोग चाहिएको बताइन् ।
सोसेक नेपालको बाल हेल्पलाइनकी कार्यक्रम संयोजक रमा श्रेष्ठले पीडितको न्यायमा जुट्दा धाक–धम्की आउने गरेको गुनासो गरिन् । उजुरी प्रक्रियाको क्रममा प्रहरीमा पुगेका, स्वास्थ्य उपचारका लागि दैलेख अस्पतालको ओसीएमसीमा आएका र जोखिम परेकाहरुलाई आवश्यकता परेमा अल्पकालिन आवास र कानूनी सहायता दिएको विषयमा त्यस्तो धाक–धम्की आएको र आफूहरु आत्मविश्वासका साथ सेवा दिइरहेको बताइन् ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष यज्ञराज थापा, एभरेष्ट क्लवका कार्यकारी निर्देशक दिपक शाही, महिला सशक्तिकरण मञ्चका अध्यक्ष सविना बिक, आवाज संस्थाकी मनोसामाजिक कार्यकर्ता सम्झना केसी, सोसेक नेपालका बाल संरक्षण अधिकृत प्रभाकुमार बिक, प्रहरी निरीक्षक कृष्ण खड्का र सत्यनाराण चौधरीले जिल्लामा लैगिंक हिंसा समस्या र समाधान उपाय बारे आ–आफ्नो धारणा राखेको थिए ।
नागरिक समाज संस्था र दैलेखका ११ वटै पालिकाका महिला तथा बालबालिका शाखा प्रमुखहरुले लैंगिक हिंसा रोकथाम सवालमा गरेका क्रियाकलाप र यो आर्थिक वर्षमा गर्ने कार्यक्रमहरुको कार्यजना बारे जानकारी दिदै प्रहरीको अभियानलाई साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *