हरितालिका तीजकाे अवसरमा भलिबल प्रतियोगिता

मातृभूमी संवाददाता । ११ भाद्र दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका २ लाँकुरीमा हरितालिका तीजको अवसरमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । भैरव आधारभूत विद्यालय लाँकुरीको आयोजनामा महिलाहरुको महान चाड हरितालिका तीजका अवसरमा भलिबल प्रतियोगिता सम्पन्न भएको हो ।
भलिबल प्रतियोगितामा पुरुषतर्फ दुई टोलीको सहभागिता रहेको विद्यालयका वि.व्य.स. अध्यक्ष धर्मराज विष्टले जानकारी दिए । खेलकुदका यस्ता कार्यक्रमले खेलाडीहरूलाई उत्प्रेरण जगाउने हुँदा खेलकुदका कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने बताए । खेलकुदका कार्यक्रमले अहिले खेलकुदको क्षेत्रमा आधारशिला बनेको भन्दै, कार्यक्रम अवधिभर स्वच्छ र निष्पक्ष रूपमा खेलाडीहरूले खेलको मर्यादा र उच्च मनोबलका साथ खेलेको वि.व्य.स. अध्यक्ष विष्टले बताए ।
यस्तै डुङ्गेश्वर गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष राजुकुमार के.सी.ले कुनै कुराको सुरुवाती गरेपछि त्यसले जागरुपता दिन जरुरी रहेको बताए । यस कार्यक्रमले गाउँपालिकाको खेलकुद क्षेत्रलाई माथि उठाउन सहयोग पुग्ने धारण व्यक्त गरे । गाउँपालिकाले दशैं र तिहारको वीचमा अध्यक्ष कप भलिबल प्रतियोगिता गर्ने जानकारी दिए ।
समापन कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक तप्त बहादुर खत्रीले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै खेल क्षेत्रले खेलाडीहरूलाई खेल प्रतिको माया र सद्भावका लागि भलिबल प्रतियोगिताको आयोजना गरेको जानकारी दिए ।
प्रतियोगितामा डुङ्गेश्वर गाउँपालिका २ लाँकुरी र भगवतीमाई गाउँपालिका ७ खोरबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा विजेताले ७ हजार, उपविजेताले ४ हजार र उत्कृष्ट एक जना खेलाडीले १ हजार रुपियाँ राशिको नगद पुरस्कार प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *