दैलेखमा ग्यास उत्पादनको पूर्वतयारीबारे स्थलगत अध्ययन
मातृभूमी संवाददाता । १८ भाद्र दैलेख
दैलेखको जलजले क्षेत्रमा पत्ता लागेको मिथेन ग्यास उत्पादन, प्रशोधन र उपयोगको खाका तयार गर्ने पूर्वतयारी थालिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको प्राविधिक सामितिले ग्यास उत्खनन् हुने स्थलको अध्ययन तथा अवलोकन गरी उत्पादन, प्रशोधन र ढुवानीका लागि आर्थिक र प्राविधिक पक्षको जानकारी लिएको छ ।
नेपाल आयल निगमको इन्जिनियरिङ परियोजना विभागका निर्देशक विनितमणि उपाध्यायको नेतृत्वमा गठित समितिले परीक्षण उत्पादन कसरी अघि बढाउने, प्रशोधन, मिथेन ग्यासको खपत लगायतका विविध विषयमा स्थलगत अध्ययन गरी एक महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने कार्यादेश दिइएको थियो । समितिमा खानी तथा भूगर्भ विभागका जिओलोजिस्ट धर्मराज खड्का, पेट्रोलियम अन्वेषण परियोजनाका मनिष कर्ण, नेपाल आयल निगमका केमिकल इन्जिनियर दीप्ति पौड्याल, मेकानिकल इन्जिनियर भक्त भण्डारी रहेका छन् ।
समितिका सदस्य एवं खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काले मल कारखाना सञ्चालन र अन्य प्रयोजनका लागि ग्यास कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा स्थलगत अध्ययन गरी सरकारलाई आवश्यक सुझाव दिने बताए । उनले चाइनाको जिओलोजिकल सर्भेले गरेको अध्ययनको प्रारम्भिक प्रतिवेदन अनुसार ११२ अर्ब घन मिटर प्राकृतिक मिथेन ग्यास भनिएको भए पनि त्यसको अन्तिम प्रतिवेदन आउनु अगावै आवश्यक पर्ने विविध पक्षको अध्ययन गर्ने उद्देश्यले स्थलगत निरीक्षण गरिएको बताए । अन्तिम रिपोर्ट प्राप्त भएपछि विस्तृत डिजाइन, प्रशोधन प्लान्ट, ढुवानी र वितरणको मोडालिटी तय गरी सोही अनुसार पूर्वाधार बनाउने काम सुरु हुने विभागका प्रवक्ता खड्काले बताए ।
पेट्रोलियम अन्वेषणमा सहयोग गरिरहेको चीनलाई उत्पादनमा पनि आर्थिक तथा प्राविधिक सहयोग गर्न आग्रह गरिएको खानी तथा भूगर्भ विभाग अर्न्तगतको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेशकुमार नापितले सरकारले पठाएको पत्रको जवाफ अझै नआएको बताए ।
दैलेखको जलजले क्षेत्रमा पेट्रोलियम अन्वेषण गरिरहेको चिनियाँ सरकारी कम्पनीले उक्त क्षेत्रमा ११२ अर्ब घनमिटर मिथेन ग्यास रहेको प्रारम्भिक प्रतिवेदन दिएको थियो । उक्त रिपोर्टबाट उत्साही नेपाल परीक्षण उत्पादनका लागि पूर्वतयारीमा जुटेको हो ।
रिपोर्ट प्राप्त गरे लगत्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खानी तथा भूगर्भ विभाग र पेट्रोलियम अन्वेषण परियोजनाको टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिरभित्र परीक्षण उत्पादनको पूर्वतयारी सक्न निर्देशन दिएका छन् ।