अपाङ्गता भएका ब्यक्तिको हक अधिकारका लागि एक दिने गोष्ठी सम्पन्न

मातृभूमी संवाददाता । २८ असोज दैलेख
दैलेखको नारायण नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार सम्बन्धी एकदिने गोष्ठी सम्पन्न भएको   छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा एभरेष्ट क्लब दैलेखद्वारा सञ्चालित पावर परियोजनाको आर्थिक सहयोगमा पञ्चकोशी अपाङ्गता मञ्च तथा नारायण नगरपालिकाको समन्वयमा एक दिने गोष्ठि सम्पन्न भएको हो ।
गोष्ठिमा नारायण नगरपालिकाका उपप्रमुख तप्ता थापाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी निर्णयमा मात्रै सीमित नभई अधिकारहरूको कार्यान्वयनमा जोड दिनुपर्ने वताईन् । उपप्रमुख थापाले विपद्को बेलामा अति जोखिममा पर्ने अपाङ्गता भएका व्यक्तिहरू भएकाले विपद् व्यवस्थापन प्रतिकार्य योजना बनाउँदा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता अनिवार्य हुनुपर्ने बताइन् । उनले जिल्लामा बन्दै गरेका भौतिक संरचनामा विशेष ध्यान दिई भवन, विद्यालय लगायत खानेपानीका संरचनाहरु अनिवार्य अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिइन् ।
यस्तै जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत ऋषिराम उपाध्यायले कानुनमा लेखिएको अधिकार र निणर्यहरु कार्यान्वयन गर्नु सबैको कर्तव्य भएको वताए । प्रशासकीय अधिकृत उपाध्यायले अपाङ्गता भएका ब्याक्तिहरुलाई आफूले पाउने सेवा सुविधाको बारेमा जानकारी अनिवार्य हुनुपर्ने बताए ।
पञ्चकोशि अपाङ्गता मञ्च दैलेखका अध्यक्ष कमल बहादुर खड्काले अपाङ्गता क्षेत्रमा भएका मुख्य उपलब्धि, समस्या, गुनासो, अपाङ्गता सम्बन्धी पैरवी, अपाङ्गता समावेशी विकास र उपयुक्त अनुकूलता बारे जानकारी दिए ।
पावर परियोजनाका जिल्ला संयोजक भुपेन्द्र खत्रीले दैलेख जिल्लामा परियोजनाले गर्ने काम र परियोजनाको लक्ष्य उद्देश्यबारे जानकारी दिए । संयोजक खत्रीले परियोजनाले १३ देखि २४ वर्ष उमेर समूहका किशोरकिशोरी तथा यूवाहरुको जीवन स्तर सुधार ल्याउन सहयोग गरेको र परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखी काम गरेको जानकारी दिए ।
कार्यक्रममा कानुनतः व्यवस्था भएको अपागंता व्यक्तिहरुको लागि यातायात छुटको व्यवस्था कार्यान्वयनको अवस्था बारे पनि छलफल भएको थियो । गोष्ठीमा जिल्लाका सबै स्थानीय तह तथा प्रहरी कार्यालय चेक पोष्टमा यातायात छुट सम्बन्धमा जानकारी गराउने, कानुनमा व्यवस्था भए बमोजिम अपागंता भएका व्यक्तिहरूलाई यातायात छुट लगायतका हक, अधिकार र व्यवस्थाबारे समुदाय स्तरमा व्यापक जानकारी गराउने, विभिन्न टिकट काउन्टरहरूमा अपागंता भएका व्यक्तिहरूलाई यातायात सम्बन्धी व्यवस्था गरिएको जानकारी सहित गुनासो गर्ने संयन्त्रबारे फ्लेक्स, स्टिकरको व्यवस्था गर्ने, यातायात छुटको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमन तथा सम्बन्धित निकायमा जानकारी गर्ने, यातायातका साधनहरूमा यात्रु सिटमा आरक्षण (महिला, अपागंता भएका व्यक्ति, ज्येष्ठ नागरिक) को सुनिश्चितता गर्ने लगायतका कार्य योजना तयार पारिएको छ ।
गैर सरकारी संस्थाहरू (एभरेष्ट क्लब, सोसेक नेपाल, पञ्चकोशी अपागंता मञ्च, सम्बन्ध नेपाल दैलेख), नेपाल प्रहरी, स्थानीय तह लगायत स्थानीय मिडियाबाट प्रचार–प्रसार गरी समन्वय गर्ने निर्णय भएको छ ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि, गैर सरकारी संस्थाहरूका प्रतिनिधि, कार्यालयका प्राविधिक, पत्रकार, सुरक्षा निकाय लगायतले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरीकले यातायातको भाडादरमा ५० प्रतिशत छुट पाउने सूचना प्रवाह गर्नुपर्ने लगाएतका सवालमा छलफल समेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *