दैलेखको भैरवी गाउँपालिकालाई ग्रामीण भिडियो एक्सरे मेसिन सहयोग
मातृभूमी संवाददाता । २२ कार्तिक दैलेख
ग्रामीण जनताहरूको आधारभूत स्वास्थ्य सेवासम्मको पहुँच सुनिश्चितताका लागि वान हार्ट वर्ल्ड वाइड र एभरेस्ट कलब दैलेखको साझेदारीमा सञ्चालित स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजनाद्वारा भैरवी गाउँपालिका दैलेख लाई एक समारोहका बीच ग्रामीण भिडियो एक्सरे मेसिन हस्तान्तरण गरिएको छ ।
दूरदराजमा बसोबास गर्ने गर्भवती महिलाहरूको गर्भावस्थामा रहेको बच्चाको स्वास्थ्य स्थिति समयमा नै पहिचान गरी सम्बन्धित जोखिम न्यूनीकरणका लागि ग्रामीण भिडियो एक्सरे सेवा एकदमै आवश्यक तथा प्रभावकारी छ । ग्रामीण भेगमा बसोबास गर्ने गर्भवती आमाहरूको लागि टाढाको स्वास्थ्य संस्थामा जान खर्चिलो हुनुको साथै यात्रा गर्न जोखिम हुने भएको हुनाले यस ग्रामीण भिडियो एक्सरे सेवाले सो समस्याको समाधान गर्ने अपेक्षा गरिएको छ ।
वर्षेनी कैयौँ बच्चा हरू विकलांग जन्मिने, गर्भावस्था खेर जाने तथा जटिल प्रकारको प्रसुति समयमै पहिचान नभई आमा तथा बच्चाको ज्यान जोखिममा पर्ने समस्या यस ग्रामीण भिडियो एक्सरे मेसिनको उपलब्धताले न्यूनीकरण हुने छ । ग्रामीण भिडियो एक्सरे सेवा तालिम प्राप्त स्वास्थ्यकर्मी पुष्पा बिष्टले मेसिन प्राप्त गरिसकेपछि सम्बन्धित स्वास्थ्य संस्था तथा मासिक रूपमा यस पालिका अर्न्तगतको विभिन्न स्वास्थ्य संस्थाहरूबाट मोबाइल क्याम्पको रुपमा ग्रामीण सेवा प्रदान गर्ने बताईन् ।
स्वास्थ्य शाखा प्रमुख शमशेर बहादुर बिष्टले ग्रामीण भिडियो एक्सरे मेसिन प्रदान गरेकोमा वन हार्ड वर्ल्डवाइड र एभरेस्ट क्लब दैलेखलाई धन्यवाद दिए । यस सेवालाई निरन्तरता दिनको लागि भैरवी गाउँपालिका सदैव तयार रहने तथा सेवा प्रवाहमा कुनै पनि कमी हुन नदिन स्वास्थ्यकर्मी नियमित रूपमा परिचालन गर्ने बताए ।
गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले यस गाउँपालिका अर्न्तगतको स्वास्थ्य सेवालाई सुदृढीकरण गर्न सहयोग गरेकोमा वानहाट वर्ल्ड वाइड र एभरेस्ट क्लब दैलेखलाई धन्यवाद दिँदै आगामी दिनमा संघसंस्थाहरूसँग साझेदारी रुपमा कार्यक्रमहरु गर्न पालिका अग्रसर रहेको बताईन् ।
ग्रामीण भिडियो एक्सरे मेसिनको लागत मूल्य २ लाख २३ हजार ५ सय ३० रहेको वनहाट वर्ल्डवाइडका जिल्ला संयोजक सन्तराम चौधरीले जानकारी दिए । पालिकाद्वारा यस मेसिनलाई दिगो रुपमा परिचालन गर्नको निम्ति कार्य योजना बनाई सोही अनुसार परिचालन गर्न र आवश्यकता अनुसार गरी दिगो रुपमा मेसिनको प्रयोग गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवी भण्डारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद उपाध्याय, स्वास्थ्य शाखा प्रमुख शमशेर बहादुर बिष्ट, वान हार्ट वर्ल्ड वाइडका जिल्ला संयोजक सन्तराम चौधरी, एभरेस्ट क्लब दैलेखका वरिष्ठ उपाध्यक्ष बालकृष्ण केसी लगायतको सहभागीता रहेको थियो ।

