सम्झौताभन्दा ८ महिना अघि नै बन्यो पक्कि पुल

मातृभूमी संवाददाता । २४ कात्तिक दैलेख
महावु गाउँपालिका छिर्ने प्रमुख नाका तारागाढ खोलाको पुल सम्झौताको ८ महिना अगाडि नै निर्माण सम्पन्न भएको छ । निर्धारित समयमा काम नहुँदा पीडा पोख्ने स्थानीय समय अगावै काम हुँदा खुसी भएका छन् । सवारीका साधनहरु खोलाबाट तर्दै आएका महावुका स्थानीयहरु पुल निर्माण सम्पन्न भएपछि थप खुसी भएका हुन् ।
पूर्वाधार विकास कार्यालय दैलेख र आरबी कन्स्ट्रक्सन दैलेखबीच २०८१ वैशाख १७ गते सम्झौता भएको थियो । सम्झौता अनुसार पुल २०८३ असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने भनिए पनि सम्झौता अवधिभन्दा पहिला नै काम सम्पन्न भएको निर्माण कम्पनी आरवी कन्स्ट्रक्सन दैलेखका संचालक रुपक थापाले जानकारी दिए । कम्पनीले कार्यालयसँग ३ करोड ६२ लाख ७६ हजार ४ सय ६३ रुपैँया ७९ पैसामा (भ्याट सहित) पुल निर्माणको सम्झौता गरेको थियो ।
स्थानीयका अनुसार पुल निर्माणअघि महावु गाउँपालिकातर्फ आवतजावत गर्न खोलामै मोटरसाइकल तथा सवारीसाधन चलाउनुपर्ने बाध्यता थियो । पुल बनेसँगै अब गाउँपालिकाका सबै वडाका बासिन्दालाई सहज आवतजावतको सुविधा हुने महावु गाउँपालिका वडा नं. २ का अध्यक्ष प्रकाशराज थापाले बताए ।
आरबी कन्स्ट्रक्सनका संचालक थापाले आफ्नो कम्पनीले समय अगावै निर्माण सम्पन्न गर्ने परम्परा राखेको भन्दै आगामी काममा पनि त्यही प्रतिबद्धता जारी रहने बताए । उनले यसअघि पनि आफुले जिम्मा लिएका निर्माणको काम समयमा सम्पन्न भएपछि विभिन्न कार्यालयबाट कम्पनी पुरस्कृत हुँदै आएको बताए ।
पूर्वाधार विकास कार्यालय दैलेखका अन्य योजनाको प्रगति सुस्त हुँदा तारागाढ पुल निर्धारित समयभन्दा अघि निर्माण सम्पन्न हुनु कार्यालयकै लागि सकारात्मक उपलब्धि र प्रगतिका रुपमा हेरिएको कार्यालय प्रमुख प्रविण कार्की बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *