मातृभूमी संवाददाता । १९ चैत्र दैलेख 
दैलेख पेट्रोलियम पदार्थ उत्खनन् लागि चीनबाट ल्याइएका उपकरणहरु दैलेख पुगेका छन् । २०७६ असोजदेखि सुरु फागुनुम्म गरिएको अन्वेषणबाट यहाँ पेट्रोलियम पदार्थ भएको पुष्टि भएपछि पछिल्लो समय उत्खनन्का लागि तयारी चरणमा पुगको हो । भैरवी गाउँपालिका १ जलजलेमा उत्खनन्को लागि अन्तिम ड्रिलिङ सर्वेको कामका लागि चीनबाट ल्याइएका उपकरणहरु दैलेख ल्याई पुर्‍याइएको हो । चीनबाट कलकत्ता हुँदै अन्वेषण स्थलमा उपकरण बोकेको ३ वटा ट्रक आइपुगका दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।

पेट्रोलियम पदार्थ उत्खनन् लागि चीनबाट ल्याइएका उपकरण र उपकरण बोकेका ट्रकहरुको भन्साल राजस्वको विवादले नेपालगन्ज नाका रुपैडियामा झण्डै तीन साता रोकिएकोमा नेपाल सरकारको सहजीकरणपछि दैलेख पुर्‍याइएको हो । ड्रिलिङ सर्वेको लागि उपकरणहरु राख्ने फाउण्डेशन तयार भइसकेको छ । भैरवी गाउँपालिका १ जलजलेमा रहेकोको फाउण्डेशनबाट चार किलोमीटर गहिरो ड्रिल गरिने छ । पेट्रोलियम पदार्थ परिणाम र फैलावट बारे थाहा हुने भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितले बताउनुभयो ।

अन्वेषणका लागि उपकरण ल्याउन कर्णाली राजमार्गको सुर्खेतदेखि दैलेखको साँगेतडासम्म र चामुण्डाविन्दासैनी नगरपालिकादेखि मध्यपहाडी राजमार्गको जलजलेसम्म ४ करोड ३६ लाखमा सडक फराकिलो पारिएको छ । १५ मिटर लम्बाइ र ४० देखि ४५ टनको ठुलो ड्रिलिङ मेशिन ल्याउन सडक फराकिलो पारिएको हो । नेपाली र चीनको प्राविधिक टोलीले पहिलो चरण अन्र्तगतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी ४ वटा सर्वेका काम गरिएको थियो । यसअघि टोलीले पहिलो चरण सम्भाव्यता अध्ययन र दोस्रो चरणमा ड्रिल मेसिन मार्फत अन्वेषण सकिसकेको छ । पेट्रोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्वे कम्पनीसँग २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा खानी अन्वेषण र उत्खननको काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सरकारले भैरवी गाउँपालिका १ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको अधिग्रहण गरिसकेको छ ।