वेथिति श्रृंखला-४७ : गुराँसका उपाध्यक्षको दोहोरो सुविधा : गाडी पनि, भत्ता पनि !
मातृभूमी संवाददाता । ३२ असार, दैलेख
दैलेखको गुराँस गाउँपालिकाका उपाध्यक्ष शिवाकुमारी खड्काले दाेहाेराे सुविधा लिँदै आएकाे पाइएकाे छ । उपाध्यक्ष खड्काले विगत लामाे समयदेखी दोहोरो सवारी सुविधा लिँदै आएको पाइएको हाे । गत आर्थिक वर्षमा महालेखा परीक्षकको कार्यालयले उपाध्यक्ष खड्काले दोहोरो सुविधा लिँदै आएकाे औँल्याएको छ । महालेख परिक्षक कार्यालयकाे प्रतिवेदनलाइ लत्याउँदै उपाध्यक्ष खड्काले याे आर्थिक वर्षकाे असार मसान्तसम्म पनि कायम रहेको देखिएको हाे ।
महालेखा परीक्षकको कार्यालयले गत आर्थिक वर्षको प्रतिवेदनमा उपाध्यक्ष खड्काले गाडी सुविधा वापत मासिक १२ हजार रुपैयाँ बुझ्दै आएको र गाउँपालिकाबाट समेत सवारी सुविधा लिएको उल्लेख गरेको छ। चालु आर्थिक वर्षमा पनि उनले गाउँपालिकाको सवारी साधन प्रयोग गर्नुका साथै सवारी सुविधा वापतको भत्ता पनि लिँदै आएको पाइएको स्रोतले जनाएको छ ।
उपाध्यक्षले एकै समयमा सवारी साधनको सुविधा र त्यस सम्बन्धी भत्ता दुवै लिएको विषय सार्वजनिक भएपछि गाउँपालिकाभित्र यसको चर्काे विरोध भएकाे छ । स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले सार्वजनिक स्रोतको उपयोग कानुन र मापदण्ड अनुसार हुनुपर्ने भन्दै प्रश्न उठाएका छन् । उनीहरूले उपाध्यक्ष खड्काले दाेहाेराे सुविधा लिएर राज्यकाे स्राेतकाे दाेहाेन गरेकाे भन्दै चर्काे आलाेचना भैरहेकाे छ ।
प्रचलित व्यवस्था अनुसार गाउँपालिकामा सरकारी सवारी साधन प्रयोग गर्ने सुविधा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई मात्र रहेको छ । उपाध्यक्षका लागि यस्तो सुविधा व्यवस्था नभएको अवस्थामा गाउँपालिकाको सवारी साधन प्रयोग र सवारी सुविधा वापतको भत्ता दुवै लिएको विषयले वित्तीय अनुशासन र सुशासनमाथि प्रश्न उठाएको छ । यता उपाध्यक्ष खड्काले गाडी चढेको खण्डमा गाडी सुबिधा वापतको रकम लिन पाइन्छ कि पाइदैन भन्ने थाहा नभएको भन्दै नियमानुसार उक्त रकम फिर्ता गर्नुपर्ने भए फिर्ता गर्ने बताएकी छन् ।

