दैलेखको महावुमा बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ
मातृभूमी संवाददाता । ३२ असार दैलेख
दैलेखको महाबु गाउँपालिका ३ मा १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा २० वर्षीय एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महाबु गाउँपालिका ३ का गणेश विष्ट रहेका छन् । घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिई जबर्जस्ती करणी मुद्दामा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी श्रवण कुमार विश्वकर्माले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी विश्वकर्माका अनुसार आरोपित विष्टलाई जिल्ला अदालत दैलेखबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ । घटनाका सम्बन्धमा आवश्यक प्रमाण संकलन, बयान तथा अन्य कानुनी प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । प्रहरीका अनुसार अनुसन्धान जारी रहेकाले घटनाका सबै पक्षको सूक्ष्म रूपमा अध्ययन भइरहेको छ ।

