शैक्षिक वेथिति श्रृंखला–४ : सरकारी अनुदानमा मनपरी, भ्रमणमा ६ लाख स्वाहा

मातृभूमी संवाददाता । ०१ श्रावण दैलेख
अनुदान रकमको दुरुपयोग गरी दैलेखको एक विद्यालयले भ्रमणमा खर्च गरेको पाइएको छ । दैलेखको भगवतीमाई गाउँपालिका ७ खोरमा रहेको भैरब माध्यामिक विद्यालयले अनुदान रकमको दुरुपयोग गरी भ्रमणमा खर्च गरेको पाईएको हो । विद्यालयको शैक्षिक गुणस्तर सुधार र सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को विकासका लागि आएको अनुदान रकमको दुरुपयोग गरी भ्रमणमा खर्च गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यविधि अनुसार सामुदायिक विद्यालयका विद्यार्थीका लागि पुस्तकालय स्थापना, पुस्तक खरिद र सूचना तथा सञ्चार प्रविधि व्यवस्थापन गर्न गाउँपालिकाले विद्यालयलाई ६ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । उक्त अनुदान रकम विद्यार्थीको शैक्षिक विकासमा खर्च नगरी जिल्ला बाहिर पोखरा भ्रमणमा गई आर्थिक अनियमितता गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
भ्रमणपछि खर्च गरिएको रकमको बिल भरपाईको समेत फर्जी तयार गरिएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । महालेखाको छानबिनका क्रममा रकम दुरुपयोगको बदमासी लुकाउन नक्कली बिलको धन्दा समेत चलाएको महालेखाको प्रतिवेदनले प्रष्ट उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार विद्यालयले २०८२ असार ३ गतेदेखि ७ गतेसम्म पोखरा शैक्षिक भ्रमण गरेको देखिन्छ । तर भ्रमणका क्रममा भएको खर्च विवरणमा पेस गरिएका बिल भरपाईहरू भने भ्रमण अवधि सकिएपछि जारी भएका छन् । असार ८, १४, २१ र २२ गतेका बिल समेत पेस गरी भुक्तानी लिएको प्रतिवेदनमा उल्लेख छ । भ्रमण टोली पोखरा गएको भनिए पनि रुपन्देही, दैलेख, सुर्खेत र बाँकेका होटल तथा पेट्रोल पम्पका बिलहरू पेस गरिएको पाइएको छ । भ्रमणको मिति र बिलको मिति फरक देखिएपछि महालेखाले खर्च प्रक्रियामाथि प्रश्न उठाउँदै १ लाख २६ हजार ७ सय ५० रुपैयाँ रकमलाई अनियमितता गरेको ठहर छ ।
विद्यार्थीले पढ्ने पुस्तकालय र कम्प्युटर ल्याब स्थापना गर्न आएको अनुदान रकम दुरुपयोग गर्दै भ्रमणमा भगवतीमाई गाउँपालिका ७ का वडाध्यक्ष पूर्णबहादुर थापा, सदस्य रन्जना कुमारी भण्डारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालबहादुर बि.क., प्रधानाध्यापक पूर्णबहादुर भण्डारी, लेखापाल सर्वजित बि.क., नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक भोगबहादुर थापा, ज्वाला माध्यमिक विद्यालय बेस्ताडाका शिक्षक प्रेमबहादुर थापा र कमल अधिकारी सहित ३८ जनाको टोली पोखरा भ्रमणमा गएको थियो ।
विद्यार्थीको पुस्तकालय र प्रविधि विकासका लागि आएको बजेट भ्रमणमा खर्च गरेपछि तत्कालिन समयमा समेत विरोध भएको थियो । अहिले महालेखा परिक्षकको कार्यालयले समेत अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेपछि उतिवेलाको गरिएको पोखरा भ्रमणको अहिले सर्वत्र आलोचना हुनुका साथै चर्को विरोध हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *