दैलेखमा एक वर्षमा २७ लाख रुपैयाँ बढी राजस्व संकलन, दुर्घटनामा १२ जनाको मृत्यु
जित बहादुर थापा (रोशन)
४ साउन, दैलेख
जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले एक वर्षको अवधिमा २७ लाख ५ सय रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०८२/०८३ मा ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकलाई कारबाही गरि राजस्व संकलन गरेको हो । एक वर्षको अवधिमा २ हजार ६ सय ६२ सवारी चालकलाई कारबाही गरेको छ ।
मध्य पहाडी राजमार्ग र दैलेख–चुप्रा सडक खण्डलाई केन्द्रित गरी सवारी चेक जाँचमा कडाइ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रहरी वरिष्ठ नायव निरीक्षक जयसिंह गुरुले जानकारी दिए । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने, ओभर लोड बोक्ने, सिट बेल्ट र हेल्मेट नलगाउने, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा आवश्यक कागज–पत्र साथमा नबोक्ने र बत्ती बिग्रेका सवारी साधनहरू कारबाहीमा परेको उनले बताए । सडकमा बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, चालकको लापरवाही तथा छाडा पशुचौपायाका कारण जिल्लामा सवारी दुर्घटनाको दर समेत बढेको प्रहरी वरिष्ठ नायव निरीक्षक गुरुले बताए ।
आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म ८३ वटा सवारी दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन् भने २ सय ८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखको तथ्याङमा उल्लेख छ । राजस्व उठाउनुभन्दा नागरिकको जीवन रक्षा र सुरक्षित यात्रा सुनिश्चित गर्नु ट्राफिक प्रहरीको मुख्य लक्ष्य रहेको कार्यालयले जनाएको छ ।
दुर्घटना न्यूनीकरणका लागि असार मसान्तसम्म ७ सय ३१ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा ५६ हजार ९ सय ३८ जना सडक प्रयोगकर्ता, पैदलयात्री, चालक र सह–चालकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
आगामी दिनमा विद्यालयका सवारी साधन, सार्वजनिक यातायात र विशेषगरी ग्रामीण सडकहरूमा चेकिङलाई अझ तीव्र बनाउने र सचेतना अभियानलाई गाउँ–गाउँसम्म पुर्याउने रणनीति ट्राफिक कार्यालयले तय गरेको छ ।

