सुर्खेत–दैलेख सडकखण्डको रिठामा गाडी दुर्घटना, एक जना सामान्य घाइते

मातृभूमी संवाददाता । ०४ श्रावण दैलेख
सुर्खेत–दैलेख सडकखण्ड अर्न्तगत रिठामा सोमबार सवारी दुर्घटना भएको छ । गुडिरहेको एक इलेक्ट्रिक गाडी र विपरीत दिशाबाट सुर्खेततर्फ जाँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन् ।
सुर्खेतबाट दैलेखतर्फ आइरहेको कर्णाली प्रदेश ०२–००१ ज ९२२ नम्बरको इभी गाडी र दुल्लुबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००२ प ८१३४ नम्बरको मोटरसाइकल रिठामा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख जयसिंह गुरुले जानकारी दिए ।
दुर्घटनामा परी मोटरसाइकल चालक दुल्लु नगरपालिका वडा नम्बर १३, मालिका बस्ने ३३ वर्षीय रेशम शाही घाइते भएका छन् । घाइते शाहीको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण गुडिरहेको मोटरसाइकल अनियन्त्रित भई गाडीसँग ठोक्किन पुगेको ट्राफिक प्रमुख गुरुको भनाइ छ ।
मोड र साँघुरो सडकमा गति सीमित नगर्दा दुर्घटना भएको उहाँले बताए । यस सडकखण्डमा तीव्र गति र जथाभाबी ओभरटेकका कारण पछिल्लो समय दुर्घटनाको जोखिम बढ्दै गएको छ । ट्राफिक प्रहरीले चालकहरूलाई पहाडी तथा मोड भएका सडकहरूमा सवारी साधनको गति नियन्त्रणमा राख्न र सवारी नियमको पूर्ण पालना गर्न विशेष आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *