दैलेख अस्पतालमा स्वास्थ्य बीमा अर्न्तगका सेवा पुनः सञ्चालन
जित बहादुर थापा (रोशन)
०५ श्रावण दैलेख
दैलेख जिल्ला अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम अर्न्तगत रोकिएका सम्पूर्ण स्वास्थ्य सेवाहरू पुनः सञ्चालन भएका छन् । स्वास्थ्य सेवा कार्यालय दैलेखले एक सूचना जारी गर्दै स्थगित भएका सेवाहरू पुनः सञ्चालन भएको जानकारी दिएको हो ।
स्वास्थ्य बीमा बोर्डबाट प्राप्त हुनुपर्ने बीमा दाबी रकम समयमै भुक्तानी नहुनु तथा परिमार्जित सुविधा प्याकेजको न्यून दररेटका कारण केही समयदेखि अस्पताललाई सेवा सञ्चालनमा कठिनाइ भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा.मनोज विश्वकर्माले जानकारी दिए । सोही कारण अस्पतालले स्वास्थ्य बीमा अन्तर्गतका सेवाहरू स्थगित गरेको थियो । स्वास्थ्य बीमा बोर्डको असार २० गतेको पत्र अनुसार परिमार्जित सुविधा प्याकेज लागू भएपछि स्वास्थ्य बीमा अन्तर्गत प्रदान गरिने सम्पूर्ण सेवाहरू पुनः सुचारु गरिएको उनले बताए ।
यसअघि बीमा बोर्डबाट लामो समयसम्म भुक्तानी नआउँदा र सेवा प्रदान गर्दा लाग्ने वास्तविक लागतको तुलनामा सुविधा प्याकेजको दररेट न्यून हुँदा बीमा सेवा अस्थायी रूपमा बन्द गर्नुपरेको उनले बताए । बोर्डले नयाँ व्यवस्था लागू गरेपछि अस्पतालले पुनः सेवा सञ्चालनमा ल्याएको उनको भनाइ छ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सेवाग्राहीहरूलाई सहज रूपमा सेवा लिन कार्यालय प्रमुख डा. विश्वकर्माले आग्रह गरे ।
साथै, अस्पताल फार्मेसीबाट स्वास्थ्य बीमा अर्न्तगत उपलब्ध गराइने औषधिहरू एक पटकमा बढीमा एक महिनाका लागि मात्र उपलब्ध गराइने पनि उहाँले स्पष्ट पारे । अस्पताल प्रशासनले नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमा अन्तर्गत सेवा लिन आउने सेवाग्राहीहरूलाई तोकिएको प्रक्रिया पूरा गरेर मात्र सेवा लिन अनुरोध गरेको छ ।

